OnlineKhabar.com

वृद्धाआश्रममा भेटिए जंगबहादुर र देवकोटाका सन्तान

लौ सुन्नोस् मुनामदन बिर्साउने देवकोटाका सन्तानको दुःख

2070 साउन 1 गते 8:03 मा प्रकाशित

१५ वर्षे किशोर वयमा तत्कालीन युवराज महेन्द्रसँग विवाह गर्न अस्वीकार गरेको बताउने जंगबहादुर राणाकी पनातिनी भुवन अहिले वृद्धाश्रममा दुःखद जीवन बिताइरहनुभएको छ । ‘ए’ क्लास राणा परिवारकी छोरी हुँ भन्ने रवाफ अहिले पनि उहाँमा छँदैछ । तर, यसबाहेक उहाँसँग अर्थोक केही पनि छैन ।

उहाँको दाबीअनुसार परिवारले सम्झाएको मानेर तत्कालीन राजदरबारको प्रस्ताव स्वीकार गरेको भए सम्भवतः गणतन्त्र नेपालका नागरिकले अहिले उहाँलाई ‘पूर्वमुमा बडामहारानी’ भनेर बोलाउँथे होलान् । जीवनको उत्तरार्द्धमा उहाँले सुखसयलकै जिन्दगी बिताइरहनुभएको हुन्थ्यो होला । तर, यौवनावस्थामा गरेको एउटा कठोर निर्णयले ८८ वर्षीया भुवन राणालाई अहिले वृद्धाश्रममा थन्किन बाध्य बनाएको छ । जंगबहादुरकी पनातिनी भुवन अहिले कोटेश्वरस्थित निःसहाय सेवा केन्द्रमा जीवन बिताइरहनुभएको छ ।

budi-1

अहिले पनि उनको बोलीचालीमा उतिबेलाकै राणा परिवारको रवाफ छ । तर, दरबारकी बुहारी बन्ने प्रस्ताव अस्वीकार गरेको उहाँको कुरा अहिले मानिसले सितिमिति पत्याउनै गाह्रो मान्छन् । भुवन आफूलाई जंगबहादुरका सन्तान दाबी गर्ने थीरजंग राणा र उनकी पत्नी महालक्ष्मीकी जेठी सन्तान हुनुहुन्छ । उहाँ खिचापोखरीको घरमा उहाँ जन्मनुभएको हो । आमाबुवा र चार भाइबहिनी गरी ६ जनाको परिवार थियो । भुवनका बुवा त्यतिबेला बडाहाकिम हुनुहुन्थ्यो । भुवनको स्याहार सुसारका लागि छुट्टै सुसारे थिइन् । त्यस्तो सुखसयलमा हुर्किएकी भुवनलाईर् अहिले वृद्धाश्रम ‘जेल’ जस्तै भएको छ ।

उमेर छँदा भुवन निकै सुन्दरी हुनुहुन्थ्यो रे । त्यसमाथि राणा परिवारकी छोरी । सबैको आकर्षण हुने नै भयो । तत्कालीन शाहवंशीय राजाहरूसित उहाँको परिवारको साइनो सम्बन्ध छँदै थियो । त्यसैले राजदरबारमा जाने र राजपरिवारका सदस्य उहाँको घरमा आउने क्रम चलिरहन्थ्यो । यही क्रममा तत्कालीन युवराज महेन्द्रले उहाँलाई मन पराउनुभयो । त्यसपछि दरबारबाटै आफूलाई बिहेको प्रस्ताव आएको उहाँ बताउनुहुन्छ । ‘विसं १९९५ सालतिरको कुरा हो । म १५ वर्षकी थिएँ । युवराज महेन्द्रले मलाई मन पराएका रहेछन् । बिहेको प्रस्ताव आयो,’ हल्का मुस्कुराउँदै भुवनले आफ्नो जवानीका कुरा खोल्नुभयो, ‘उमेरमा त साह्रै राम्री थिएँ नि, अहिले पो बूढी भएँ, त्यसमाथि त्यसबेला राणाकी छोरी भन्ने हुन्थ्यो ।’

परिवारले नै कर गर्दा पनि युवराजसित बिहे गर्न किन मान्नुभएन ? जिज्ञासामा भुवनले भन्नुभयो, ‘अरूको बिहे देखेर मलाई मनै लागेन । राजा महेन्द्र मात्रै हो र ? माग्न त कति आए कति, तर मलाई बिहे गर्न मनै लागेन ।’ परिवारले सम्झाउनुका साथै निकै दबाब दिए पनि जबरजस्ती बिहे गर्न नसकेको उहाँले बताउनुभयो, ‘कसैको कुरा सुनिनँ मैले, जबरजस्ती बिहे गरिदिन कसैले सकेनन् ।’ वृद्धाश्रमको आश्रयमा दिन बिताइरहेकी भुवनलाई विगतको निर्णय सम्झेर अहिले ठूलो पछुतो नलागे पनि उल्लास पनि छैन । ‘सपनाजस्तै लाग्छ, विगत सम्झिदा त । यस्तो (वृद्घाश्रम) मा आएर बस्छु भन्ने कसले सोचेको थियो र ? कर्म यस्तै रै’छ, के गर्ने,’ आफैलाई सान्त्वना दिने प्रयास गर्दै उहाँ भन्नुहुन्छ ।

आम नेपालीले विरलै पाउने सुखसयलमा उहाँका दिन बितेका थिए । जीवनको उत्तरार्द्ध वृद्धाश्रममा बिताउनुपर्नेछ भन्ने त कल्पनामा समेत थिएन । ‘सुती-सुती नोकर चाकरलाई कँजाएर खान्थेँ,’ भुवनले विगत सम्झँदै भन्नुभयो ‘मेरो छुट्टै सुसारे थियो, परिवारका मान्छेपिच्छे सुसारे थिए । केही काम गर्नु पर्दैनथ्यो । सबै काम उनीहरूले नै गर्थे ।’ त्यस्तो सुखसयलमा हुर्किएकी भुवनलाईर् अहिले वृद्धाश्रममा बेलाबेला विरक्त लाग्छ, आफ्नै जीवन देखेर । मानिससित खुलेर कुरा गर्न पनि मन लाग्दैन । ‘कसैसँग खुलेर कुरा गर्न पनि मन लाग्दैन, कतिबेला त रुनमात्रै मन लाग्छ,’ कुरा गर्दै जाँदा उहाँको गह भरिन थाले । परेलीछेउसम्मै आँशु टिलपिल भयो । फेरि आफँैलाई सान्त्वना दिँदै उहाँले भन्नुभयो ‘यो उमेरमा अरू उपाय पनि त छै्रन नि अब । त्यही भएर जसोतसो यहीँ बसेकी छु ।’

 कहिलेकाहीँ उमेरमा घरजम गरेको भए हुन्थ्यो जस्तो पनि लाग्छ उहाँलाई । तर, छोराछोरी, नातिनातिना भएकाको पनि बेहाल देखेर चित्त बुझाउनुहुन्छ । अहिले भने बिहे नगरेर राम्रै गरेजस्तो लाग्छ रे । किनभने छोराछोरी भएका राम्रा घरका वृद्धवृद्धा पनि उहाँसँगै आश्रममा छन् । आफूले पाएको ‘दिव्यज्ञान’झै उहाँ सुनाउँनुहुन्छ- ‘छोराछोरी भए पनि सुख त पाइने रहेन छ नि । बेलामा कति माग्न आए-आए, अहिले केको पछुतो मान्नु र ? बरु ठिकै गरेछु, छोराछोरी भए पनि पाल्ने रहेनछन्, यहाँ छोराछोरी भएका राम्रै घरका पनि धेरै महिला छन् ।’

भुवनलाई शरीर काँप्ने समस्या छ । त्यसैले आफै खाना खान सक्नुहुन्न । भान्छे शान्ता लामिछानेले उहाँलाई खाना खुवाइदिने गर्नुहुन्छ । राणा परिवारकी छोरी भएको रवाफ अहिले पनि भुवनमा छ । भान्छे लामिछानेको बुझाइमा भुवनको अलि छुच्चो स्वभाव छ । अरूलाई कँजाएर खानुपर्छ भन्ने भावना अझै उहाँको मनबाट हट्न सकेको छैन । ‘यहाँ पनि कसैसँग मिल्न सक्दिनन्, हामीलाई खाना खुवाउने बेला निकै समस्या हुन्छ,’ लामिछानेले भन्नुभयो, ‘राणा परिवारकी छोरी हुँ, मभन्दा अरू कोही बलियो छैन भन्ने व्यवहार भुवनले हामीसित पनि देखाउनुहुन्छ ।’

८८ वर्षकी भुवनलाई आमा भनेर कसैले सम्बोधन गरे औधी रिस उठ्छ । राणा परिवारकी अविवाहित उनलाई सबैले ‘मै’साप’ भनेको मनपर्छ । उहाँ बसेको आश्रममा पनि सबैले उहाँलाई त्यही भनेर बोलाउँछन् । ‘सबैले उनलाई मै’साप नै भन्नुपर्छ, अरू सम्बोधन गरे अपमान गरेजस्तो महसुस गर्नुहुन्छ,’ लामिछानेले सुनाउनुभयो ।

 महाकविकी भतिजी मीठू पनि वृद्धाश्रममा

 देशका गहना मानिने महाकवि लक्ष्मीप्रसाद देवकोटाकी भतिजी मिठू अर्याल पनि अहिले वृद्धाश्रममै हुनुहुन्छ । ‘छन गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भन्ने उखान उहाँको जीवनमा पनि चरितार्थ भयो । रमाइलो विगत मात्रै छ, अहिले उहाँसित ।  ९१ वर्षीया मिठू अर्याल पनि जंगबहादुरकी पनातिनी भुवन राणासँगै वृद्धाश्रममा बस्नुभएको छ । उहाँको परिवार देशको गहना हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी भतिजी हुनुहुन्छ उहाँ । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी भनेजस्तै भयो मेरो जीवन,’ उहाँको आफ्नो जीवनको बुझाइ हो यो ।devkota

काठमाडौं डिल्लीबजार निवासी अर्यालले बेसहारा भएपछि वृद्धाश्रमलाई आफ्नो घर बनाउनुभएको हो । अचेल उहाँलाई लाग्छ, सम्पन्न परिवार भनेरमात्र हुँदोरहेनछ, भाग्यले पनि साथ दिनुपर्ने रहेछ । ‘मलाई मेरो भाग्यले साथ दिएन, धनी परिवारमा जन्म लिएर के गर्नु, बुढेसकाल लागेपछि कसैले साथ दिँदा रहेनछन्,’ अर्यालले भन्नुभयो ।

लक्ष्मीप्रसाद देवकोटाका जेठा दाजु लेखनाथकी जेठी छोरी हुनुहुन्छ मिठू । परिवार शिक्षित भए पनि महिला भएकाले उहाँले पढ्न पाउनुभएन । महाकवि देवकोटाले भतिजीलाई पढाउन खोज्नुभएको थियो तर परिवारले मानेनन् । छोरी मान्छेले पढेपछि पोइल जान्छन् भन्ने बुझाइ थियो, समाजमा त्यतिबेला । ‘मलाई पढाउने काका (लक्ष्मीप्रसाद) को ठूलो धोको थियो, तर ऊबेलाको समाज त्यस्तै थियो, छोरी पढ्नु हुँदैन, पढायो भने पोइल जान्छन् भनेर पढ्न दिएनन्,’ उहाँले विगत सुनाउनुभयो । ‘काका (लक्ष्मीप्रसाद) खुबै पढ्नुहुन्थ्यो, अनि उहाँको सहयोगमा अलि-अलि नेपाली अक्षर चिन्नमात्रै सकेँ ।’

देवकोटा परिवार त्यतिबेला ६० जनाको थियो । बिहानको खाना सबैले खाइन्जेलसम्म दिउँसोको दुई बजिसक्थ्यो । मिठु मासु निकै रुचाउनुहुन्थ्यो । देवकोटा परिवारमा त्यतिबेला च्याङ्ग्रा दिनदिनै काटिन्थ्यो रे । ‘हाम्रो घरमा एकदमै रमाइलो हुन्थ्यो, ६० जनाको परिवार थियो । बिहानको खाना खाँदा दिउँसोको दुई बज्थ्यो,’ मिठूले मीठो विगत सम्झँदै भन्नुभयो-‘अझ रमाइलो कुरा त घरमा दैनिकजसो च्याङ्ग्रा काटिन्थ्यो, मलाई च्याङ्ग्राको मासु साहै्र मनपथ्र्यो, बाहरूले मासु काटेर सबैलाई भाग नलगाएसम्म म त्यहीँ बसिरहन्थेँ । भात खाँदैनथेँ, मासुमात्र खान्थेँ ।’ अहिले त मीठूले मासु खान छाडेको पनि २५ वर्ष भयो । ‘धर्मकर्म गर्न लागेपछि मासु खान छाडिदिएँ । मिठूले भन्नुभयो ।

बाल्यकाल सम्झिँदा अहिले मिठूको मन भक्कानिएर आउँछ । उहाँ घरकी जेठी छोरी । त्यसैले होला, काका लक्ष्मीप्रसादले धेरै माया गर्नुहुन्थ्यो । ‘काकाले खुबै माया गर्नुहुन्थ्यो, मेरो बिहेमा खुब रुनुभएको थियो,’ उहाँले भन्नुभयो- ‘१३ वर्षमा मेरो बिहे भयो, काकाले त्यो उमेरमा मेरो बिहे गराउन चाहनुभएको थिएन । तर, बाबाले मान्नु नै भएन, यही विषयमा बाबा र काकाबीच झगडा पनि भयो ।’ विवाहबारे मिठूका बुवा र काका लक्ष्मीप्रसादका आ-आफ्ना तर्क थिए । ‘नछुनी (महिनावारी) हुन्छे, छिटो बिहे गर्नुपर्छ बाबाले भन्नुहुन्थ्यो, काकाले उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्छ भन्नुहुन्थ्यो,’ उहाँले सुनाउनुभयो । हुन पनि ऊबेला छोरी नछुनी नहुँदै बिहे गर्ने परम्परा थियो ।

उहाँको बिहे धुमधामसँग भयो । ‘म त्यतिबेलासम्म केही थाहा पाउँदिनथेँ, अरूले जे भन्थे, त्यही गथेर्ं । श्रीमान् (गुणप्रसाद अर्याल) त्यतिबेला १७ वर्षको हुनुहुन्थ्यो । नौ कक्षामा पढ्नुहुन्थ्यो,’ उहाँले भन्नुभयो । निकै तामझामसित भएको आफ्नो बिहे उहाँ अहिले सम्झनुहुन्छ । बुहारी भएर गुणप्रसादको घरमा भित्रिएपछि उहाँलाई निकै गाह्रो भयो । घरमा सासू-ससुरा, नन्द, जेठाजु, देवरलगायतको ठूलो परिवार थियो । सुरु-सुरुमा त सबैले माया गरे । भान्साको काम गर्नु पर्दैनथ्यो, खानमात्रै बोलाउँथे सबैले । साँझ बत्ती बाल्ने बेला सबैजनालाई ढोग्नुपथ्यो । ‘ढोग्दा ढोग्दा शरीर नै दुख्थ्यो, फेरि सबैलाई खुट्टामै ढोग्नुपर्थ्यो ।’ उहाँले सुनाउनुभयो । मिठू ससुरासँग खासै बोलचाल गर्नुहुन्न्थ्यो । सासू पनि जाती हुनुहुन्थ्यो । ‘सासूले असाध्यै माया गर्नुहुन्थ्यो, धोती लगाएर टाउको पूरै छोपेर बस्नुपथ्र्यो ।’ त्यसबेलाको परम्परा सुनाउनुभयो मिठूले ।

उहाँ श्रीमान्सँग कम बोल्नहुन्थ्यो । ‘म बोल्दैनथेँ, एकदमै डर लाग्थ्यो, उहाँको स्वभाव त्यस्तै थियो, अलि छुच्चो स्वभावको हुनुहुन्थ्यो । ऊबेला त केटा मानिसको मुख त हेर्न पाइँदैनथ्यो, अझ म श्रीमान्सँग कसरी बोल्ने ? उहाँको स्वभाव पनि त्यस्तै रै छ पहिलेदेखि नै ।’ मिठू आफ्नो विगत यसरी सम्झनुहुन्छ । उहाँका श्रीमान् घरबाहिर बस्न रुचाउनुहुन्थ्यो । ‘श्रीमानको् बानी राम्रो थिएन, घरबाहिरै बढी बस्ने, त्यसैले म धेरैजसो माइतीमै बस्थेँ,’ उहाँले भन्नुभयो, ‘श्रीमान्को बानी सुधि्रन्छ कि भन्ने आश थियो मेरो । आसैआसमा बसें । छोरी जन्मिई, तैपनि केही लागेन । कहिले घर, कहिले माइत गर्दै मेरो केही समय बित्यो ।’

जीवन उतारचढावपूर्ण ढंगले बितिरहेको थियो । यहीबीच ०१० सालमा उहाँका श्रीमान् बिते । त्यसपछि जीवनमा दुःखका दिन सुरु भए । ‘श्रीमान् बितेपछि सासूले मानो छुट्याइदिनुभयो र सोही घरमा दुईवटा कोठा दिनुभयो । हामी आमा-छोरी त्यहीँ बस्न थाल्यौँ । सानो उमेरमै विधवा हुनुको पीडा छँदै छ, त्यसमाथि घरपरिवारले गर्ने व्यवहारले गर्दा बाँच्न पनि कठिन बन्दै गयो ।’ ‘मेरो शरीरको रातो पहिरन सेतोमा परिणत भयो, चुरा, टीका, पोते, सिन्दुर पनि पुछियो, निधारमा टीका लगाउन मनपथ्र्यो, त्यो पनि नपाइने भयो, त्यो क्षण त मेरा लागि जिन्दगीकै सबैभन्दा ठूलो पीडादायक थियो ।’

श्रीमान् बितेपछि दोस्रो बिहे गर्न केही आफन्तले सुझाए पनि मिठूलाई भने मन लागेन । ‘एउटी छोरी, उसका लागि भए पनि बाँच्नुपर्छ भनेर दोस्रो विवाहबारे सोचाइ पनि आएन ।’-उहाँले भन्नुभयो । घरबाट राम्रो सहयोग नपाएपछि उहाँले आत्मनिर्भर हुने बाटो खोज्नुभयो । ‘०१४ देखि मैले पनि काम गर्न थालेँ, रेडियो नेपालमा । रेडियोमा मैले आधा आकाश र ग्रामीण कार्यक्रम चलाउँथेँ,’ मिठूले भन्नुभयो- ‘नारी कार्यक्रममा महिलाको अवस्था र गतिविधिबारे चर्चा गर्थे  । त्यो कार्यक्रममा अर्की महिला साथी शान्ता श्रेष्ठ (हाल : एमाओवादी नेतृ) संग मिलेर चलाउँथेँ ।’

पहिलोपटक रेडियोमा बोल्दा उहाँ खुसी र दुःखी एकसाथ हुनुभयो । ‘एकदमै खुसी पनि लागिरहेको थियो र कताकता डर पनि थियो । कस्तो होला कार्यक्रम भनेर । के बोल्ने होला भनेर डराएकी थिएँ,’-उहाँले रेडियोको जागिरको पहिलो दिन सम्झनुभयो । रेडियोमा काम थालेपछि भने उहाँले धेरैको सहयोग पाउनुभयो । उहाँले मदनमणि दीक्षितको समीक्षा साप्ताहिकमा स्थापनाकालदेखि नै काम शुरु गर्नुभयो । ‘त्यस पत्रिकामा करिब १० वर्षजति संवाददाताका रूपमा काम गरेँ ।’ उहाँले भन्नुभयो, ‘त्यसक्रममा महिलालाई घर बाहिर निस्कन निकै कठिन थियो, त्यसमाथि म विधवालाई काम गर्न निकै गाह्रो भयो । पछि काका (लक्ष्मीप्रसाद देवकोटा) को सहयोगले काम गर्न सफल भएँ ।’

जसोतसो छोरी र उहाँको गुजारा चलेकै थियो । उहाँले छोरी समिलालाई नौ कक्षासम्म पढाउनुभयो । छोरीको विवाह पनि गरिदिनुभयो । विस्तारै छोरीको घरमा समस्या देखिन थाल्यो । ‘ त्यसैले घरायसी कारणले स्थायी हुने समयमा जागिर पनि छाड्नुपर्‍यो ।’ उहाँले सुनाउनुभयो । साथी शान्ता कामको सिलसिलामा बाहिर देश जानुभयो । कहिले आउने, कहिले नआउने गर्न थालेपछि सबैजनाले उहाँलाई जागिर छाड्न भने ।’ मिठूले भन्नुभयो, ‘शान्ताले आफूले छाडेपछि मलाई पनि छाड्न भन्नुभो अनि ०३१ सालतिर हामीले सँगै रेडियोको जागिर छाड्यौँ ।’

छोरीको विवाह भए पनि बच्चाबच्चा नभएपछि छोरी र ज्वाइँबीचको सम्बन्ध बिग्रँदै गयो । ‘त्यसपछि छोरी मसँगै बस्न थालिन्, जसोतसो आमाछोरीले जीवन चलाइरहेका थियौँ, छोरीको बच्चाबच्ची नभएपछि ज्वाइर्ं -भैरवनाथ आचार्य)ले दोस्रो बिहे गर्नुभयो, उहाँ अहिले मैतीदेवी बस्नुहुन्छ, उहाँको दोस्रो श्रीमतीबाट तीन छोराछोरी छन्,’ मिठूले भन्नुभयो । आफ्नी छोरीको चार लाख रुपैयाँ आफन्तले नै खाइदिएको मिठूको गुनासो छ । ‘छोरी आमालाई कसरी पाल्ने भनेर सधैँ चिन्ता गरिरहन्थी, पिरैपिरले ६ वर्षअघि छोरीको पनि मृत्यु भयो अनि म एक्लै बाँचिरहेकी छु,’-उहाँले भन्नुभयो ।

सुरुमा उहाँ आफ्नै घर डिल्लीबजारमा बस्नुहुन्थ्यो । पछि जेठाजुको कपनमा भएको जग्गामा चारकोठा र ट्वाइलेट भएको घर बनाएर बस्नुभयो । ‘मेरो आफ्नो कमाइले बनाएको घर थियो, त्यो घर पनि मेरो भएन, मलाई झुक्याएर आफन्तले अरूलाई बेचेछन्,’ उहाँले भन्नुभयो, ‘त्यसपछि कहाँ बस्ने, के गर्ने भन्ने भो, आश्रय खोज्न बाध्य भएँ र अनि छिमेकीलाई भनेर ०६९ मा यहाँ आश्रममा बस्न आएँ ।’

वृद्धाश्रमको बसाइ राम्रै लागेको छ, उहाँलाई । ‘रामै्र छ, खान बस्नलगायतको सुविधा छ, घरमा बिरामी परेका बेला तातोपानी खान दिने कोही थिएनन्, यहाँ भनेको बेला तातोपानी खान पाइन्छ,’ उहाँले भन्नुभयो, ‘आफन्त त धेरै छन् । भाइका छोराबुहारी अमेरिका बस्छन् । मलाई आउनुस् बस्न पनि भन्छन्, तर, जाने मन छैन, अब मर्नेबेला के जानु ? आफ्नै देशमा मर्छु, म जाँदिँन भनें ।’ मृत्यु पर्खेर बसेको बताउनुहुन्छ उहाँ । ‘डाँडापारिको घाम भइसके, अब मर्ने दिन कुरिरहेकी छु, विगतका कुरा सम्झदा खुसी र दुःख दुबै लाग्छ । यो मेरो कस्तो भाग्य होला ?,’ उहाँले भन्नुभयो ।

स्रोत : मिरर न्युज मासिक

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।