OnlineKhabar.com

‘धोती’ र ‘खाते’ : सामन्ती साहित्य

2070 भदौ 13 गते 7:53 मा प्रकाशित

अरुण बराल

Arun Baralअनलाइन पत्रिका भनेको अन्य सञ्चारमाध्यमहरु भन्दा यस अर्थमा फरक छ कि यसमा पाठकहरुसँग सीधा सम्वाद गर्न पाइन्छ, समाचारहरुमा देखिएका गल्तीहरु पाठकहरुले तत्काल औंल्याउनुहुन्छ र यसलाई सच्याउन सजिलो हुन्छ । सञ्चारमाध्यम सन्तुलित नभएको, कसैप्रति पूर्वाग्रही भएको र कसैप्रति बढ्ता भक्ति गरेको देखियो भने पनि सचेत पाठकहरुले निरन्तर खबरदारी गर्नुहुन्छ, जसले गर्दा अनलाइन पत्रकारिता अन्य पि्रन्ट वा रेडियो, टीभीमा जस्तो एकोहोरो सम्वाद हुने नभई दोहोरो सम्वाद गर्न सकिने सञ्चार माध्यम हो ।

अनलाइनमा आउने कमेन्टहरुको अध्ययन गर्दा सकारात्मक शिक्षा, सुझाव एवं सिर्जनात्मक आलोचनाहरुमात्रै भेटिँदैनन्, यसमा हाम्रो समाजको सांस्कृतिक स्तर पनि यदाकदा प्रकट हुने गरेको पाइन्छ । कतिपय पाठकहरुले राम्रो कमेन्ट गर्दागर्दै पनि केही त्यस्ता शब्दहरु घुसाउनुभएको हुन्छ, जसका कारण कमेन्ट शो हुन गाह्रो पर्छ । त्यसपछि आफ्नो कमेन्ट ‘शो’ नभएको झोंकमा अश्लील गालीहरुको पनि सामना गर्नुपर्छ अनलाइनकर्मी पत्रकारहरुले । यस्ता अश्लील गाली अन्य सञ्चारमाध्यममा काम गर्ने सहकर्मीहरुले शायदै खानुपर्ला ।

यो लेखमार्फत् पाठकहरुसँग सम्वाद गर्न खोजिएको विषयचाहिँ अहिले तीनवटा शब्दमा मात्रै छ, धोती, खाते र भालु । कतिपय पाठकहरुले कसैलाई गाली गर्नुपरेमा यी शब्दहरु अक्सर प्रयोग गर्ने गर्नुभएको छ । विशेष गरी मधेसी मूलको व्यक्तिलाई धोती, नेता वा कुनै व्यक्ति विशेषलाई खाते र महिलालाई भालु भन्ने गरिएका कमेन्टहरु बाक्लै आउने गरेका छन् । यस्ता कमेन्टहरु थाहा पाएसम्म पोष्ट गरिँदैनन् तर पोष्टमात्रै नगरेर पुगेन, बहसै गर्नुपर्ने अवस्था देखियो ।

धोती : मधेसी समुदायमाथिको विभेद

धोती आफैंमा नराम्रो शब्द होइन । पहाडे बाहुनले खाना खाँदा मात्रै होइन, अनेक शुभ कर्ममा धोती नलगाई धर पाउँदैन । अझ आसौच बार्दा त राष्ट्रिय पोशाकरुपी सुरुवाल लाउन पाइन्न, १३ दिनसम्म धोतीकै भरमा इज्जत धान्नुपर्छ । तर, पहाडे मूलको मानिसले मधेसी समदायको मानिसलाई हेपेर भन्ने शब्दका रुपमा ‘धोती’लाई प्रयोग गरिँदै आएको छ । त्यसैले यो पदावलीको प्रयोग गरेर कसैलाई धोती भन्नु भनेको विभेदकारी व्यवहार हो । सामाजिक सञ्जालमा पहुँच जमाउन सक्ने तपाई-हामीजस्ता आधुनिक मान्छेले सामन्ती समाजबाट पैंचो ल्याइएको ‘धोती’ भन्ने शब्दको प्रयोग गरेर मधेसी समुदायका हामीजस्तै नेपालीहरुमाथि अपमान नगर्ने हो कि ? इन्टरनेटजस्तो सभ्यताको इञ्जिनमा सामन्तवादका अवशेषहरु प्रयोग नगर्ने हो कि ?

खाते : वर्गीय विभेद र अमानवताको पराकाष्टा

कसैलाई गाली गर्दा हामी ‘खाते’ भन्छौं भने यो पनि सामन्तवादको एउटा उदाहरण हो । हामी कत्ति अमानवीय र दानवजस्ता छौं भन्ने  ‘खाते’ शब्दको प्रयोगबाट थाहा हुन्छ । ‘खाते’ भन्ने शब्दको बाहिरी अर्थ सडक बालबालिका भन्ने बुझिन्छ । ती सडक बालवालिका निर्दोष र अबोध छन् । उनीहरु आफ्नो गल्तीले सडकमा पुगेका हैनन्, उनीहरु त्यस्तो हुनमा प्रौढ मानिसहरुको दोष छ । समाजालई मानवीय बनाउने हो भने हामीले त खातेलाई माया गर्न सिक्नु पर्ने होइन र ? उनीहरु कसरी गालीका लागि प्रयोग गर्ने शब्द हुन सक्छन् ? सामन्तवादी एवं दानवीय आँखाबाट हेर्नेहरुले मात्रै ‘खाते’लाई धृणा गर्छन् ।

अहिलेको आधुनिक र सभ्य मानिसले ‘खाते’लाई माया गर्छ । सडकमा भेट्टायो भने केही खानेकुरा दिन्छ । कतिपयले उनीहरुलाई उद्धार गर्ने संस्था नै खोलेका छन् । गरीबलाई र मैलाधैला मान्छेलाई, पैसा नभएका मान्छेलाई खाते भनेर गाली गर्ने चलन चलचित्र कलाकार, नेता रसभ्य भनिएका मानिसहरुमा प्रशस्तै भेटिन्छ । त्यसैले कसैले बोल्दा फलाना त खातेजस्तो हो भन्छ भने त्यसलाई ठाउँको ठाउँ समातेर सच्याउन लगाउने हो पो कि ?

भालु : लिंगीय विभेद
महिलालाई कुनै कमेन्ट गर्नुपर्‍यो भने केही पाठकले यो ‘आइमाई भालु हो’ भन्ने शब्द प्रयोग गर्ने गरेको पाइन्छ । यो पदावलीमार्फत कुनै महिलालाई ‘वेश्या’ भन्न खोजिएको हो त्यो मर्द भनाउँदो पुरुषले के विचार गर्नुपर्छर् भने एकजना महिला ‘वेश्या’ हुनका लागि दुई वा दुईभन्दा बढी पुरुषहरु ‘वेश्या’ हुनैपर्छ । पुरुषविना महिलामात्रै एक्लै ‘वेश्या’ हुन सक्दिनन् । त्यसैले महिलालाई आलोचना गर्दा प्रयोग गरिने यस्तो शब्दले ती महिलालाई हैन, कमेन्ट गर्ने पुरुषको सांस्कृतिक स्तर कति दरिद्र छ भन्ने प्रष्ट हुन्छ । यो शब्द लिङ्गीय विभेदजन्य हो ।

किन हुन्छ यस्तो ?

सामन्तवादी संस्कृतिले गरिब, दुब्लो, कालो, र पिछडिएको मानिसलाई हेप्छ । सामन्तवादले उनीहरुलाई गाली र उपमाको विषय बनाउँछ । गरीबहरुलाई खाते भन्ने र ‘राजाको काम छाडी कामीको देवाली’ भन्नेजस्ता दलितलाई हेप्ने नियतले उखान टुक्काहरु सिर्जना गर्ने काम सामन्तवादी साहित्यले गर्छ, गरिरहेको छ । तर, अब हामी सामन्तवादबाट पुँजीवादी सभ्यतातिर उक्लन लागेका बेला यस्ता जातीय, क्षेत्रीय, लिङ्गीय एवं वर्गीय विभेदजन्य शब्दहरुको प्रयोगबाट पनि बाहिर निस्कने कि ननिस्कने ?

अनलाइनमा आउने कमेन्टहरु हेर्दा कतिपय पाठकले माओवादी नेता मोहन वैद्यका बारेमा ‘अनुहार हेर्दै बाँदरजस्तो’ भनेर कमेन्ट गर्ने गरेको पाइन्छ । यो पनि शारीरिक विभेदको एउटा घिनौनी दृष्टान्त नै हो । कसैको अनुहार नराम्रो हुनु उसको दोष हैन । नराम्रो अनुहार हुँदैमा गाली गर्ने हो भने दार्शनिक सुकरातलाई के भन्ने ? शरीर अशक्त हुँदैमा, बोल्न नसक्दैमा हेप्ने हो भने झमककुमारी घिमिरेलाई के भन्ने ? मान्छेलाई उसको शारीरिक बनावट, रंग वा रुपका आधारमा निन्दा गर्नु सामन्तवादी संस्कृतिको घृणित दृष्टान्त हो । यो संसार गोरा, बलिया, अघाएका, सुकिला मुकिला, चिल्ला र मर्दहरुको मात्रै होइन ।

गरीब, काला, ध्वाँसे, कमजोर र अनुहार विग्रेकाहरुको पनि हो यो संसार । त्यसैले अब कमेन्ट गर्दा खाते, धोती जस्ता शब्दहरु प्रयोग नगर्ने र ‘सिभिलाइजेशन’लाई ध्यान दिँदै नेपाली समाजलाई सभ्यतातर्फ अघि बढाउने हो कि ? नयाँ संवादको शुरुवात गरौं र सामन्तवादी संस्कृति झल्कने शब्दहरुबाट आधुनिक साहित्यलाई, सोसियल मिडियालाई मुक्त पारौं ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“‘धोती’ र ‘खाते’ : सामन्ती साहित्य” मा प्राप्त 2 प्रतिकृयाहरू
  • Santosh Pokharel लेख्नुहुन्छ    |   2070 भदौ 27 गते 21:14

    सत्य बचन

  • ravi लेख्नुहुन्छ    |   2070 असोज 12 गते 0:43

    dhoti bhanne sabda Indian lai lakxit gari nepali le bhanne garxan tarai ka daju bhai lai hami MDHESI BHANNE garxau, madhesi daju bhaiharu lai pani jankari hos