OnlineKhabar.com

अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी

2070 भदौ 13 गते 15:12 मा प्रकाशित

रमेश घिमिरे

सानैदेखि औपचारिक अध्ययनसहित बाहिरी बौद्धिक क्षमतामा उत्कृष्ट ठहरिंदै आएका रामेश्वर खनाल ०६७ चैतसम्म समकालीन निजामती सेवामा सबैभन्दा बढी विषयगत ज्ञान र निर्णय क्षमता भएका सचिव थिए । पर्याप्त समाजशास्त्रीय ज्ञानको अभावका बाबजुद राजनीतिज्ञ र कर्मचारीको तुलनामा सरकारी निकायमा बसेर गर्नुपर्ने कामको सम्बन्धमा उनमा सबैभन्दा बढी ज्ञान थियो ।

जस्तोसुकै जटिल समस्यामा पनि उनले तुरुन्तै विवेकपूर्ण निर्णय गर्दथे । ज्ञानको ठूलो भण्डार भएका कारण उनले मन्त्री, प्रधानमन्त्री, अन्य मन्त्रालयका सचिव र दातृ निकायका प्रतिनिधि सबैलाई कन्भिन्स गर्न सक्दथे । राजनीतिक नेतृत्वले दलगत स्वार्थ र निजी स्वार्थ पूरा नभएका कारण कहिलेकाहीं उनीसँग असहमति राखे पनि ‘रामेश्वरको सहयोगबिना सरकार सञ्चालन गर्न सकिंदैन’ भन्ने निष्कर्ष निकालेर मन नहुँदा नहुँदै पनि सचिव खनालसँग सम्झौता गर्ने गर्दथे ।

rameshwor khanalखनालले अहिलेसम्म लिएका कुनै निर्णय गलत भएका छैनन् र गरेका निर्णय कहिल्यै फिर्ता पनि लिएका छैनन् । उनी गाउँका युवामा सकारात्मक सोच फैलाउने उद्देश्यसहित नेपाली कांग्रेसमार्फत राजनीतिमा प्रवेश गरेका छन् । अर्थसचिव हुँदा उनले देखाएको ‘परफरमेन्स’ उनीबाट अहिले पनि अपेक्षा गरियो भने पछि उनले केही गर्न सकनेन् भनेर गाली गर्नुको विकल्प बाँकी रहने छैन ।

उमेरसँगै खनालको स्वभावमा केही परिवर्तन आएको आइसकेको छ । अर्थ मन्त्रालयमा हुँदा जस्तो विज्ञसँगको अन्तरक्रिया र देशविदेशको अपडेटमा रहन अहिले सम्भव छैन । अर्थ सचिव हुँदा कानुनले उनलाई अधिकार दिएको थियो, उनको चामत्कारिक शक्ति -च्यारिसमेटिक पावर) को कारण उनको निर्णय धेरैबाट स्वीकार पनि हुन्थ्यो । राजनीतिमा लाग्दा उनीसँग कानुनी अधिकार छैन, दोस्रो शक्ति मात्र छ ।

खनाल कुनै दलविशेषको सदस्य भए पनि आफ्नो विवेकलाई कसैसँग सम्झौता गरेर दुषित हुन नदिने उनको प्रतिवद्धता यथार्थमा परिणत भइसकेको छ । कांग्रेस प्रवेश गरेलगत्तै उनले अन्य दलका उदारवादी नेताको समेत खुलेर प्रशंसा गरे । कांग्रेस सदस्य भएर उनलाई मन परेका अरु पार्टीका नेतालाई प्रशंसा गर्ने स्वतन्त्रता छ, जुन स्वतन्त्रता अन्य दलको सदस्य भएर पाउन सकिदैन । नेपालको सामाजिक आर्थिक विकासमा बीपी कोइरालाले बसाएको जगबाट प्रभावित खनाल बीपीलाई आदर्श मान्ने दलमा प्रवेश गरेका छन् ।

खनालले आफ्नो व्यक्तिगत लाभको लागि सार्वजनिक पदमा बस्दा स्रोत र अधिकारको कहिल्यै दुरुपयोग गरेनन् । तर, समग्र मुलुकलाई खासै नोक्सान पुग्दैन भन्ने विश्वास भएमा मन्त्रीहरु र अन्य उच्च अधिकारीका चाहना पूरा गर्न उनले थोरबहुत सम्झौता गरेर केही निर्णय भने गरेका थिए । खनालको विचार अर्थसचिव हुँदा जति ओझपूर्ण र गम्भीर हुन्थ्यो, अब त्यो अपेक्षा गरेर पाउन सकिँंदैन । अर्थ मन्त्रालयको परिधिभित्र हुने विषयमा उनमा जति विस्तृत ज्ञान थियो, अब समग्रमा मन्तव्य दिनुपर्दा मन्तव्य कम ओझपूर्ण हुनेछ ।

सचिवको रुपमा जब उनी सार्वजनिक कार्यक्रम र संसदीय समितिमा उनी पुग्दथे, उनले ज्ञान लिनुपर्ने वक्ता हुँदैन थिए र उनले ज्ञान दिनुपर्ने अवस्था मात्र हुन्थ्यो । कुनै नयाँ समस्या रहेछ भने उनले त्यो कार्यक्रममा गएर अरु सबैले भन्दा छिटो बुझिहाल्थे । त्यसपछि उनले आफ्नो बोल्ने पालो नआउँदासम्म मोबाइल सेट र आइप्याडमा इन्टरनेट खोलेर अध्ययन गर्न भ्याइसकेका हुन्थे ।

पाल्पामा जन्मेका खनालको परिवार रुपन्देहीमा हुँदै हाल भक्तपुरमा बस्दै आएको छ । नेपालको राजधानीमा बसेर उनले अरुबाट केही सिक्न पाउँदैनन् किनकि उनले संगत गर्ने व्यक्ति अक्सर उनीभन्दा कम ज्ञानवान छन् । त्यसैले उनले अब सिक्नेभन्दा सिकेको कुरा लागू गर्ने ठाउँमा जाने चाहना व्यक्त गरेका छन् । दुर्गम समाज र समुदायमा बस्दा एक प्रकारको अनुसन्धान हुने र विकासको लागि उपयुक्त मोडलसमेत पत्ता लाग्न सक्ने आशा उनमा छ ।

उनी अडानबाटपछि नहटेका केही उदाहरण हेर्ने हो भने विद्युत प्राधिकरणमा ८ सय करार कर्मचारी स्थायी गर्न ऊर्जा मन्त्री, ऊर्जा सचिव र प्राधिकरण कार्यकारी निर्देशक ८ पटक उनको कार्यकक्षमा आए । सचिवले स्थायी नगरे आफू मन्त्रालयमा बस्न नसक्ने अवस्था रहेको दाबी गरे भने कार्यकारी निर्देशकले प्राधिकरण चलाउनै नसक्ने बताए ।

मुखले जे भने पनि प्राधिकरणमा कर्मचारी थप्नु भनेको कसैको खल्ती भर्नु, प्राधिकरणलाई थप बोझ बनाउनु तथा बजारका योग्य जनशक्तिलाई अवसर नदिनु हो भन्ने प्रष्ट बुझेका खनालले ‘प्राधिकरण बन्द भए पनि होओस्, म स्थायीको स्वीकृति दिन्नँ’ भने । रामेश्वरलाई यो थाहा थियो कि प्राधिकरण कर्मचारी स्थायी नगरेका कारण बन्द हुँदैनथ्यो ।

त्यसैगरी एकपटक सेयर लगानीकर्ताले कारोबार ठप्प पारेर अर्थ मन्त्रालय गए, रामेश्वरले ‘कारोबार नखोली वार्ता नै गर्दिनँ’ भनेपछि एक हप्तापछि भए पनि कारोबार खुला गरेर वार्तामा जान उनीहरु बाध्य भएका थिए । खनालले सचिवबाट राजीनामा दिनुअघि नेपाल राष्ट्र बैंकमा ज्यालादारी कर्मचारीले गभर्नर र डेपुटी गभर्नरलाई कार्यालयमा छिर्न दिने र तर बेलुकी पाँच बजेसम्म निस्कन नदिने आन्दोलन गरेका थिए ।

राष्ट्र बैंकमा संचालक समिति सदस्य रहेका सचिव खनालले धर्ना नहट्दासम्म कामदारका मागका विषयमा संचालक समितिले गर्न कुनै पनि निर्णयमा सहमति नहुने र वार्ता नगर्ने अडान राखे, अन्ततः दुई महिनामा कामदार धर्ना छोड्न बाध्य भए ।

यस्तै, ०६७ सालमै नव नियुक्त एक दर्जन राजस्व अधिकृतलाई उनले पोष्टिङको लागि राजनीतिक तहमा कुरा नगर्न सुरुको दिन आग्रह गरेका थिए । त्यसमध्ये २ जना अधिकृतले अटेर गरी नेतालाई भनेछन् । त्यो थाहा पाएपछि खनालले ती दुई अधिकृतलाई बोलाएर भने, ‘तपाईंहरुलाई सपथको दिन मैले पोष्टिङको लागि भनसुन गर्न नजानु होला भनेको थिएँ, जानु भएछ, अब म यहाँ सचिव रहँदासम्म तपाईंहरुले चाहेको ठाउँमा कहिले पनि पोष्टिङ पाउनु हुन्न ।’

कार्यक्रममा सहभागी हुँदा, गाडीमा सवार गर्दा र घुमफिर गर्दा जहाँ पनि उनले अध्ययन र टिपोट गरिरहन्छन् । त्यसै कारण मात्र उनी सबैभन्दा बढी ज्ञान भएका कर्मचारी बनेका होइनन्, उनको निष्कपट भावना, लगाव, अनुशासन, परिश्रम र सद्विचारको यसमा योगदान छ । तर, त्यति मात्र पर्याप्त नभई उनको पारिवारिक वातावरण, आर्थिक स्थिति र पढाउने गुरु पनि उत्तिकै जिम्मेवार छन् ।

तानसेनमा तत्कालीन उच्चमध्यम वर्गीय परिवारमा उनको जन्म ०१३ साल असार २ मा भएको हो । परीक्षा आउन १७ दिनअघि मावली गाउँ फलेबासको स्कुलमा एकैपटक ३ कक्षामा भर्ना भएर उनले प्रथम स्थान हासिल गरेका थिए । त्यसपछि उनलाई तानसेनको स्कुलले पाँचमा भर्ना लियो । आठ कक्षासम्म उनी स्कुल प्रथम भए, कक्षा ९ मा पुगेपछि रेडक्रस सर्कलको अध्यक्ष र विद्यार्थी संगठनको सल्लाहकार भएका कारण पढाइमा भने दोस्रो स्थानमा झरे । त्यसपछि उनी स्नातकसम्म दोस्रो र स्नातकोत्तरमा त तेस्रो भए ।

मनोरञ्जनमा ध्यान नदिने खनाल पढाइ र घरायसी काममा पोख्त थिए । बिहान उठेपछि भैसीलाई दाना पकाउने, दुहुने र घाँस काटेर हालिदिने काम उनले गर्दथे । कक्षा ८ मा पढ्दा ब्रतबन्ध गरेका खनालले वैदिक नियमअनुसार बीकम पढदासम्म हरेक दिन जप र पूजा गर्दथे । नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र लोक सेवा आयोगमा उनको लिखितमा नाम निस्क्यो तर मौखिम परीक्षा सबैभन्दा पहिले लोक सेवाको भएको हुनाले उनले २०३७ सालमा सरकारी जागिर सुरु गरे । २३ वर्षको उमेरमा खनाल सहकारी विभागअन्तर्गत नेपालगञ्ज जिल्ला साझा विकास कार्यालय प्रमुख भए ।

स्कुलदेखि क्याम्पससम्म पिसकोर र बेलायती स्वयम् सेवकले अंग्रेजी र गणित पढाएका हुँदा उनी राम्ररी अंग्रेजी बोल्न जान्ने भएका हुन् । त्यसैले उनलाई नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारीले भारतसँगको सीमावार्तामा सहभागी गराउँथे । उनीभन्दा बढी उमेरका कर्मचारी उनीभन्दा तल्ला तहमा थिए । तर उनको ज्ञानलाई कदर गर्दै मातहत कर्मचारीले काममा सघाउथे । इन्धन खर्चको बजेट ५ महिनामा सकिएपछि उनी साइकल लिएर अनुगमनमा जान्थे र बद्मासी गर्नेलाई साइकलमै सदरमुकाम ल्याउथे ।

खनालले १५ वर्ष ९ महिना सहकारीमा शाखा अधिकृत भएर काम गरे । अरु साथी माथिल्लो तहको लागि जाँचको तयारी गर्दथे । तर उनी आफ्नो जिम्मेवारी पूरा गर्न व्यस्त हुन्थे । जसले गर्दा पढाइमा अरुभन्दा टाठो भए पनि माथिल्लो तहमा परीक्षा दिन भ्याएका थिएनन् । आन्तरिक जर्नलहरुमा लेख लेख्ने खनाल  निजामती सेवामा रहँदा बाहिरी पत्रपत्रिकमा लेख्नु कर्मचारीको धर्म विपरीत मान्दथे ।

०५३ सालमा सहसचिवको परीक्षा खुलेपछि उनले लेखा, राजस्व र कुटनीतिमा परीक्षा दिए । कुटनीतिमा लिखित र लेखामा मौखिकमा समेत नाम निस्कियो । लिखित परीक्षा दिएपछि उनी अन्तराष्ट्रिय गैरसरकारी संस्थाको परियोजनामा काम गर्न संखुवासभा गएका थिए । त्यो आयोजनामा काम गरेको ३ महिनामा सहसचिवको नतिजा निस्किएपछि उनी सरकारी सेवामै फर्के । आईएनजिओमा सरकारी तुलनामा ३५ गुणा बढी तलब थियो । ०५८ सालमा समूह हटेपछि उनी महालेखा नियन्त्रक कार्यालयबाट ०५९ सालमा अर्थ मन्त्रालय सरुवा भए ।

उनीभन्दा पछि सहसचिव भएका कर्मचारी सचिव भएर अवकाश भइसकेका थिए तर उनलाई सचिवमा नियुक्त गर्न कसैले चासो देखाएन । उनको कार्यसम्पादन उत्कृष्ट छ भन्ने सचिव, मुख्य सचिव र मन्त्रीहरुलाई थाहा थियो तर उनले कुनै दल, नेता र हाकिमको चाकडी नगर्ने भएको कारण सचिव हुने पालो आउँदै आएन ।

अन्ततः नेपाली कांग्रेसबाट अर्थमन्त्री बनेका डा. रामशरण महतले मन्त्रिपरिषद्मा उनको नाम सिफारिश गरेछन् । तर उहाँले डा. महतलाई धन्यवाद पनि दिएनन् । कार्य सम्पादन राम्रो भएको र योग्यता पुगेको आफ्नो मन्त्रालयको सहसचिवलाई बढुवा गर्न सिफारिश गर्नु मन्त्रीको सामान्य कर्तव्य हो भन्ने उनको तर्क थियो ।

आफ्नो आँखा अगाडिका कर्मचारीलाई सानोतिनो भ्रष्टाचारमा कारबाही गर्दा अर्को कार्यालयको त्योभन्दा ठूलो भ्रष्टाचारीले उन्मुक्ति पाउन सक्छ । कर्मचारीबीच अन्याय नहोस् भनेर उनले त्यति कडा रवैया पनि अपनाएनन् । उनले कर्मचारीलाई भन्ने गर्दथे, ‘तपाईंले मेरो नाम लिएर कसैसँग पैसा माग्नुभयो भने मैले कुनै हालतमा सहन्न तर कुकुरलाई आची खाने बानी परेजस्तो तपाईहरुको गलत बानी छ भने सके सुधार्नुस्, नसके मेरो र कार्यालयको नाम बद्नाम नगर्नु होला ।’

कतिपय कर्मचारीलाई उनले ‘तपाईंको घुस्याहा प्रवृतिको कारण यो जुनीमा मात्र होइन, मैले गर्न सके अर्को जुनीमा पनि वृत्ति विकास हुन दिन्नँ’ भनिदिएका थिए । राजनीतिक पहुँच प्रयोग गरेर सरुवा माग्नेहरुको सरुवा उनले सधैं रोकिदिए । उनलाई भेट्न आउने लोभीपापीको प्रसंगमा एउटा रमाइलो कथा यस्तो छ : एकजना उनको भक्तपुरस्थित घरमा एउटा कार्टुन उपहार लिएर पुगेका रहेछन् । खनालले कुरै नगरी उसलाई फर्काइदिए । खनाल गाडी चढेर कार्यालय आउने क्रममा घर नजिकैको पुलनिर ती व्यक्ति कार्टुन खसेर पोखिएको काजु, स्याउ र हर्लिक्स बटुल्दै रहेछन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी” मा प्राप्त 65 प्रतिकृयाहरू
  • श‌कर लेख्नुहुन्छ    |   2070 भदौ 23 गते 7:46

    यो त अति नै भाड बखान भो ।।।। नेपालको कर्मचारी क्षेत्रमा यस्ता मान्छे त कमै होलान् तर अहंता र मै राम्रो भन्ने भावनाले मुलुक चल्दैन । सेवा कालमा भएका एकाध प्रसंगलाइ सफलताको कडीमा राख्न मिल्दैन । मुलुकको दिर्घकालिन बिकासका लागि चाही के गरेछन् खनाले ? खोईत कुरा । चुनाव आयो भन्दैमा धेरै भाडबखान गाएर नहीडु महोदय

  • Om Prakash Pangeni लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 9:05

    mahima gan ta hiona manchhe des bhakta, deshlai uha jasto ko khancho chha malai garba lagchha

  • Deepak Gyawali लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 12:05

    I’m really proud, thanks god, help me go
    forward like rameshwor ji
    Thank you very much rameshwor ji

  • purna लेख्नुहुन्छ    |   2070 भदौ 29 गते 7:01

    yesta nathe rameshorjasta kati le khum bahadur khadka lai dhog gareko maile afnai akha le dekheko chhu aba euta thapiyo !!

  • Hom Pradhan लेख्नुहुन्छ    |   2070 भदौ 29 गते 11:30

    Rameshji, by the title I thought you are going to write dark aspects of Rameshworji. But started praising about him. Are not you trying to get influenced from him for blessing. For me Rameshworji is normal secretary as others. There is nothing special than others. Only the good aspect of his is not accusation of corruption.

  • Durlav लेख्नुहुन्छ    |   2070 भदौ 29 गते 20:41

    Ramra manish harulai welcome in congrash party ma

  • Raju shrestha लेख्नुहुन्छ    |   2070 मंसिर 1 गते 20:30

    Show your performance to change nation by political leder.Best wisher.thank u .