OnlineKhabar.com

मध्यदिनमैँ सूर्य अस्ताउँदा

2070 भदौ 22 गते 2:48 मा प्रकाशित

gagan-bistaगगन विष्ट

वियोगका आँशु गण्डकीको पानीझैं छचल्किँदै थिए । उता, यज्ञ र पूजा मण्डप आँशुको पोखरीमा डुब्दै र भत्किँदै थिए । यता, रिडी र कालीको किनारमा चिता जल्दै थिए, दनदनी । धपधप शरीर वल्दै थियो आगोको लप्कामाथि । खाँदै थियो आगोले भष्मपारी खरानी ∕ दिन अन्धकार थियो । भविष्य जरजर र उजाड वनेको पत्तै भएन मलाई । अनि सोच्थे म यो सपना हो की विपना ।

बिस्तारै दिन ढलेर रात सधैँ पर्छ । मिलनपछि वियोग सबैले भोग्नुपर्छ । तर, मेरो जीवनमा समयले पनि मिच्यो यो नियम । मध्य दिनमै रात पारेर गयो । त्यही समय थियो, हामीले जीवनको पारिलो घाम ताप्ने तयारी गर्दै थियौँ । अर्थात् वुवाआमाको चौरासी पूजामा । जुन कमैले प्राप्त गर्ने यो अवसर हो । हाम्रो परिवारले त्यो अवसर प्राप्त गरेको थियो । हामी सबै खुशीले रमाएका थियौँ ।

म बुबाआमाको चौरासी पूजाको तयारी गर्न दुई दिनअघि घरमा गएको थिएँ । म र लता सँगै घर जाने योजनामा थियौं । घरमा तयारी गर्नु पर्ने कारण गोकर्ण दाइको सल्लाहले म दुईदिन अघि नै घर पुगेँ । हामी घरमा पूजाको मण्डप बनाउनेदेखि व्यवस्थापकीय काममा व्यस्त थियौं । बुवाआमाको चौरासी पूजा ठूलो उत्सवका रुपमा आउनेवाला थियो । किनकि वर्षौं आफ्नै ब्यस्तताले भेट्न नपाएका आफन्तहरुसँग भेटघाट हुँदै थियो । पूजाका आगन्तुक र आफन्तहरुलाई केही कमी नहोस् भनेर हामीहरु लागिपरेका थियौँ । हाम्रो तयारी देखेर बृद्ध उमेरका बुवाआमाको अनुहारमा चमक फर्किएको थियो । बुवा भन्दै हुनुहुन्थ्यो, ‘जीवनको अन्तिम इच्छा पूरा हुने भो । अब मर्दा पनि खुशीले मर्न पाइने भइयो ।’ तर, उहाँहरुको अन्तिम इच्छा पूरा हुन पाएन, मुहारमा छाएको खुसी निमेशभर टिकेन । हाम्रो खुशी समयलाई सहृय भएन ! खुसी मनाउन हिँडेका आफन्तहरु पाल्पाको हार्थोकमा दुर्घटनामा परे, हाम्रो खुसीमा कालो बादल लाग्यो र आँशुको बर्षा भयो ।

म कसरी बिर्सिन सक्छु त्यो दिन । बिहानको करिब पाँच बज्दै थियो, म ओछ्यानमै थिएँ । मोबाइलमा घण्टी बज्यो, आँखा मिच्दै उठाएँ लताको रहेछ त्यो फोन । ‘हामी हिँड्न थाल्यौं बाबा,’ लताले भनिन् । मैले ‘राम्ररी आउनू’ भने । उनले ‘हुन्छ बाबा’ भनिन् । पूजाको तयारी बारे सोधिन् । मैले राम्रै भइरहेको छ भने। मेरो कुरा पत्याइनन् र भनिन्, ‘गफ गर्ने र ठग्ने बानी छ तपार्इको, राम्ररी गर्नुहोला ।’ स्वास्थ्यको पनि ख्याल गर्न आग्रह गरिन् उनले । यही संवाद अन्तिम बन्यो । यो संवाद भएको केही समय नबित्दै खबर आयो, ‘मेरी अर्धाङ्गिनीले मृत्युसँग जीवन हारिन् ।’ मेरो जीवनको सुन्दर महल भत्कियो । खुशीको इन्द्रेणी छाएको मेरो जीवनमा दुःखको अँध्यारो छायो ।

मैले पत्याउन सकिनँ । लाग्यो, ‘सपना पनि कति नराम्रा देखिरहेको छु ।’ केही समय अघिको संवाद मेरा मानसपटलमा ताजै नाचिरहेको थियो । सबैले दुःखमा पुकार गर्ने गरेको ‘दैव’ मेरा लागि त्यति निष्ठूरी होला जस्तो लागेन । मैले सोच्थेँ, ‘दुर्घटनाको खबर मिथ्या हो ।’ म भित्रै घोत्लिन्थें, मृत्यु पनि पराजित हुनेछ, मेरो जीवनसाथीसँग । मेरा ज्वाईँहरु, भान्जी आस्था र सिंगो परिवारसँग । मृत्यु क्रुर हुँदो रहेछ । केही समयपछि घटनास्थल पुगेर पत्रकार माधव अर्यालले ‘भाउजू संसारमा रहनुभएन दाई !’ भन्नुभयो । मसँग जवाफ थिएन । आग्रह गरेँ, ‘सकिन्छ भने बचाइदिनुस् !’

उहाँहरु पुग्नुअघि नै उनको प्राण गइसकेछ । उनले यो संसार छाड्नुअघि बाँच्नका लागि कति संघर्ष गरि होलिन् । मृत्यसँग कति समयसम्म लडिहोलिन् । समयमै उद्धारकर्ताको सहारा पाएको भए मृत्युसँग जित्थिन् कि ! मलाई अहिलेसम्म लागिरहन्छ । खबरले म भक्कानिए । आफन्तहरुका आँखा पनि आँशुमय भए । केहीबेर अघिसम्म ‘बुटवलमा खाना खाँदैछु’ भनेर फोन गर्ने मेरो जीवनसाथी लताको मृत्यु भएको खबर झुटो हो भन्ने लागिरहेको थियो । तर, त्यो यथार्थ वन्योे । उनी कहिल्यै नर्फकने गरी, कहिल्यै नभेटिने गरी यो संसारबाट बिदा भइछन् ।

त्यतिबेला गोकर्ण दाइ छिमेकी गाउँमा पार्टी काममा व्यस्त हुनुहुन्थ्यो । उता चौरासीकै अवसर पारेर छोरीको घर हेर्न पहिलोपटक नेपालगन्जबाट ससुराबुवा र आमा आउँदै हुनुहुन्थ्यो । बिहेको १० बर्षपछि छोरीको आँगन टेक्नु उहाँहरुका लागि ठूलै अवसर समेत थियो । तर, छोरीको घर हिँडेका बुवाआमा आँगन टेक्न नपाउँदै छोरीको अन्तिम बिदाइ गर्न घटनास्थल र्फकनुपर्‍यो । हामी सबै रोयौँ, बाटोभरी । तर, जस्तो दुःखमा आफूलाई कठोर बनाएर अरुलाई सम्झाउने सामथ्र्य राख्नुहुन्थ्यो, गोकर्ण दाइ । उहाँको भित्री मनमा दुःखको आँधी आए पनि बाहिर देखाउनु हुन्थेन । उहाँको आँखामा आँशु बिरलै देखेको थिएँ मैले । उहाँले पनि आँशु रोक्न सक्नुभएन । आँशु पुछ्दै भन्नुहुन्थ्यो, ‘अरुसँग त जुध्न सक्थें, तर ‘दैव’सँग मेरो पनि केही लागेन । अब के गरुँ !’ कुनै घटनाअघि त्यसले केही संकेत गर्दो रहेछ । अघिल्लो दिन बिहान ब्युझिएपछि गोकर्ण दाईको आँखामा भयावह दृश्य नाच्न पुगेछ । हाम्रो परिवार चढेको गाडी दुर्घटना भएको खराब दृष्य उहाँको आँखामा नाँचेछ त्यतिवेला । उहाँले मलाई फोन गरेर भन्नुभएको थियो, ‘काठमाडौँबाट आउनेहरुलाई नआउन भनिदेऊ ।’ घरमा ठूलो उत्सव भएकाले जेठादाइसँग सल्लाह गरेर अघि बढौँ भनेँ । जेठा दाइले पनि यस्तो अवसरमा सबै आउनुपर्छ भन्नुभयो । गोकर्ण दाइले भनेको मानेको भए यो दुःखद दिन देख्नुपर्ने थिएन कि ? तर, भनिन्छ ‘हुने हार दैब नटार’ त्यस्तै भयो मेरो जिन्दगीमा ।

केही छिनमै बहिनी उमा र भान्जा आदर्शलाई उपचार गर्न काठमाडौँ लगेको सुनें । तर, छोरा सिद्धान्त कहाँ छ, थाहा भएन । त्यसैबीच एमाले युवा नेता ठाकुर गैरेले फोन गरेर छोरासँग कुरा गराइदिनुभयो । बल्ल थाहा भयो, छोराचाँहि जीवितै रहेछ । तिमीलाई कस्तो छ वावु ? उसले जबाफ फर्कायो, ‘मलाई केही भएको छैन !’ राति १० बजेको थियो, तानसेन आइपुग्दा । छोरालाई भेटें । ममतामयी मामु गुमाएको पीडामा छोरा भन्दै थियो, ‘गाडी खसेपछि मैले मामुलाई देख्न पाइन, आस्था दिदी अहिले कहाँ हुनुहुन्छ ? भिनाजूहरु ऐया-ऐया भन्दै हुनुहुन्थ्यो !’ अबोध बालकको त्यो सम्झना त्यतिबेला दुःखद् अतित बनिसकेको थियो । मामु, दिदी र भिनाजुहरुले सदाका लागि उसलाई छाडिसकेका थिए ।

यस्तै पीडा र आँशुको दोभानमा उभिएर मेरा आमा बुवाको खुशी किन लुटियो । मेरा बुवाआमा मुर्छित हुँदै भन्नुहुन्थ्यो, ‘ किन आएन हामीलाई पापीकाल ! हे दैव किन बचाइस हामीलाई ? उनीहरुलाई किन लगिस ?’

अहिले लाग्छ मलाई ममतामयी आमाको काख गुमाएको मेरो छोराले मनभित्र पीडा कसरी पिएको होला ? बाबाको न्यानो काखको अनुभुति गर्न नपाएका मेरो प्यारा भान्जाले दुःखको आँशु कसरी लुकाएका होलान् ? मनभरि पीर र पीडा बोकेर बहिनी उमाले मन कसरी थामेकी होलिन् ? बहिनी उमा मृत्युलाई जितेर पनि अहिले ओछ्यानमै थला परेकी छिन् । बाँचेर पनि खुसी साट्न सक्दिनन् दुःख पीडा र आँशुमा डुवेकी छन् उनी । यस्तै व्यथा बोकेकी बहिनी कमलाले पनि बिर्सिएर फोन गर्छिन रे, आफ्ना दिवंगत पतिको टेलिफोन नम्बरमा । उनलाई अझै आफ्ना पि्रय फर्केर आउँछन् जस्तो लाग्दो रहेछ । मनभरि पीर, मुटुभरि व्यथा बोकेर बाँच्नुपर्ने यस्ता बाध्यतालाई लामो समयपछि बिर्सन खोज्दैछु म । आफ्नो दुःख र पीडा सुनाएर अरुलाई पनि थप दुःखित बनाउने मेरो कुनै चाहना होइन । तर, मनमा गुम्स्याएर राख्न पनि नसकिने रहेछ । बाध्य छु म लेख्न, आफ्नै कथा र व्यथाहरु । लेखेरै जीवनयापन गर्नुपर्ने मान्छेले पीडा ढाक्न धेरै कोसिस गरें,तर सकिनँ । र, आज म उनीप्रति समर्पित गरेर भावना पोख्दैछु । जहाँका टेबुल र कुर्सीमा मेरा छोराका तीनबर्ष खेलेर बितेका थिए । मलाई लाग्छ, आमा गौरवको गाथा हो । आमाविनाको संसार ऊसको लागि सधैं अपुरो हुनेछ । धनदौलत र ऐश आरामको जिन्दगी भएपनि ममतामयी आमाविनाको संसार छोराका लागि अपूर्ण नै हुनेछ। भनिन्छ बाबु मर्दा सन्तान टुहुरा हुँदैनन, तर आमा मर्दा सन्तान टुहुरा हुन्छन भन्ने अनुभुति मैले गरिरहेको छु ।

दिन ढल्छ, बिहानीको पर्खाइमा । जन्म र मृत्यु धुव्रसत्य हो । फरक अघि-पछि मात्र हो । एक्लो जन्म र एक्लो मरण प्राकृतिक नियम हो । यति बोध हुँदाहुँदै पनि उनी विनाको मेरो जीवन अधुरो बनेको छ । उनका केही सपनाहरु थिए, त्यो पूरा गर्न सक्छु कि सक्दिनभन्ने पीडाले सताउँछ । खुसीको फूल फूलेकै बेला झर्दा मन थाम्न गाह्रो हुँदोरहेछ । हाम्रा सपनाहरु विपना बन्न सकेनन्, एकदशकको खुसी हेर्दाहेर्दै भनायक पीडा र अन्यौलतामा बदलियो । रित्तो संसार खाली ब्रहृमाण्डमा जीवनको रंग बदलिएको छ, इन्द्रेणी रंग नितान्त कालो धब्बामा । वदलिएको जीवनकोे रंगमा पनि भविष्य खोज्दैछु अहिले मैले ।

दुघर्टनाका अन्य खबरहरु सुन्दा अहिले मेरो छोरा बेलाबेलामा झस्कन्छ । भन्छ, ‘बाबा कतिजना मरेछन् ? अनि घाइते नि ! उनीहरुको सामान त के भयो होला है ? हाम्रोजस्तै भयो कि !’ कहालीलाग्दो घटनालाई तारान्तार सम्झँदै उसले भन्छ, ‘मामु त जानु भयो, तर हाम्रा सामान कस्ले चोर्‍यो होला ? बाटोमा हिंड्दा मेरो लुगा लगाएको मान्छे भेटिन्छ कि ! हाम्रो क्यामराले फोटो खिच्दै गरेको पो देखिन्छ कि ! मामुको सुन र कपडा कस्ले लगाएको होला ?’ अनुत्तरित जिज्ञासा राख्छ र चित्त दुखाउँछ । आफ्नी मामुलाई एकछिन पनि नछाड्ने छोराले फोटो समेत हेर्न सक्दैन,फोटो डरलाग्दो वस्तु बनेको छ, उसका लागि । कहिले रुन्छ, कहिले हाँस्छ । दुःख लुकाएर बाँच्नुपर्ने बाध्यताले होला, मामुको नाम समेत उच्चारण गर्न सक्दैन । छोराको यस्तो अवस्थाले मलाई कताकता राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी खण्डकाब्यको एउटा लाइन याद आउँछः

यी रोए भने पनि दुःख लाग्छ,

यिनले सम्झेकी आमा भनी

यी हाँसे पनि दुःख लाग्छ,

यिनले बिर्सेकी आमा भनी ।।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“मध्यदिनमैँ सूर्य अस्ताउँदा” मा प्राप्त 15 प्रतिकृयाहरू
  • Santa Bahadur Sunar लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 7:42

    yo dukha ko ghadima tapai ra sampurna afanta jan haru ma shok lai shakti ma badalne prerana milos.dibangat atmako cheer shanti ko kamana garda chhu.tapaika pratek shabda harule malai bhavbibhor banaye ansu rokna sakina.

  • Birendra लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 11:53

    अत्तेन्त पिडा दायि !! कसरी थाम्दा हुन गगन ले मन ! मेरा आसुझरे ! गगन लाई धैर्य को अझ बढी साहस् मिलोस, बचेँका का त जसरी पनि बान्च्नै पर्दो रहेछ !

  • ram prasad paudel लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 12:10

    SO SAD NEWS BUT हुने हार दैब नटार’

  • saru bhabuk लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 12:42

    Niyeti ko khel nai yestai hudo rahe6aa milan pa6i bi6od tara bi6od ko pida sahan sarai garo hudo rahe6a yo lekh padai jada maile mero man nai thamna sakina sarai pidabodh bhayo.

  • deepak khanal लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 12:48

    मेरा आसुझरे

  • keshab subedi लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 14:50

    Gagan ji
    ekjana mero aafantale bhannu bhayeko thiyo” Jaha ramro hun6 tyo Ishowor le dekhi sahadaina”. Testai pida maile 34 month dekhi bhogi rahe6u. Smalina kosis garnus ani bhayeko propertylai mange garnus.mero ta gharma man6e nai aauna 6ode, aafanta pani tadha bhaye sayad mahila nabhayeko ghar bayera hola. mero pani 2 wota 6oraharu 6an.school padhda samma ta pidalai lukayera uni haruko education ra care ma dhayn diye. yo barsa dekhi ta 2bai jana ktm padh6n. eklai6u Gaganji.

  • thiralal wishwakarma लेख्नुहुन्छ    |   2070 भदौ 25 गते 18:10

    यो पढी सक्दा तीन चोटी रोएँ मुटु भक्कानियो ।

  • Gaganshila Khadka लेख्नुहुन्छ    |   2070 भदौ 26 गते 20:38

    दिन ढल्छ, बिहानीको पर्खाइमा । जन्म र मृत्यु धुव्रसत्य हो । फरक अघि-पछि मात्र हो । एक्लो जन्म र एक्लो मरण प्राकृतिक नियम हो ।आफुलाइ सम्माहलेर सिद्धान्तको भविष्य उज्यालो बनाउनु पर्छ भन्ने कुरा आत्मसात गरी अगाडि बढनु नै राम्रो हो । तै पनि यो मन त कहाँ मान्छर ? आखिर मनाउनु नै पर्छ…

  • Buddhi Bal Thapa Magar लेख्नुहुन्छ    |   2070 भदौ 28 गते 13:35

    begat lai samjhera peda denu ramro hodaina. be positive.

  • Shiva baniya pokhara 15 लेख्नुहुन्छ    |   2070 भदौ 29 गते 14:44

    Tapayai ko lakh padha ramro lagho j hos janmapachi marnu natural nayam ho . Tara pane jayadai dukha dai exuceden bhaicha yo lakh padhada asu ghara. J hos givan ma anak ghatana hunchan, parchan . Maro pane tapayai ko badanna vanda kam chaina . Dhairjja garnos . Tapayai ko asu chora la puscha.

  • sharma mani लेख्नुहुन्छ    |   2070 असोज 1 गते 11:31

    Dukhad Ghatana vo gagan dai hami sabai Dukhi 6u k Garnu Niyati le thaga pa6i . Dhaira garnu .Duniya yastai6 aakalpaniya ghatana vo .Dharai Dukha legako 6 k garnu . Babu ko ramro care garnu .
    Bhai
    mani

  • parbati Bhandari लेख्नुहुन्छ    |   2070 असोज 6 गते 9:18

    yo lekha padhda padhdai aasule bato diyenan balla balla padhera sake lekhnalai jhan kati garrho va hola gagan babulai ?

  • Raj Bhandari लेख्नुहुन्छ    |   2070 असोज 7 गते 8:02

    Daiba lagna janne ragena 6

  • bhagawati panthi लेख्नुहुन्छ    |   2070 असोज 7 गते 13:02

    yo lekh padda sarai dukh lagyo,dhairy garnus bhanna bahek hamile aru k nai garna sakchau ra.jaslai paro usale jano.

  • anjali लेख्नुहुन्छ    |   2070 असोज 8 गते 16:49

    दैवको खेल कसैले पनि बुझ्न सक्दैन । लिला विचित्रको छ। किन भेटाउंछ अनी किन छुटाउंछ ।जे होस् छोरा लाई हेरेर चित्त वुझाउन पर्दछ गगन जी ।