OnlineKhabar.com

नकारात्मक सोच कति घातक ?

2070 भदौ 24 गते 14:58 मा प्रकाशित

krishna abiralकृष्ण अविरल

घटना गत भदौ तेस्रो साताको हो । योगी डा. विकाशानन्द काठमाडौंको सामाखुसीस्थित आफ्नो आश्रममा सकारात्मक चिन्तनका फाइदा र नकारात्मक चिन्तनका वेफाइदाका बारेमा प्रशिक्षार्थीहरुलाई बताउँदै थिए । “जित्ने मान्छेले आगो लागेर घर ध्वस्त भएको घटनाबाट पनि सकारात्मक शिक्षा लिन्छ तर हार्ने मान्छे चिन्ता पालेर बस्छ । मेरो सबै स्वाहा भयो, अब केही गर्न सक्तिन भनेर सोच्छ । त्यो सोचाइले उसलाई केही गर्न नसक्ने अवस्थामै पुर्‍याउँछ ।” उनी भन्दै थिए, “त्यसैले तपाईँले जीवनमा जित्नु छ, अरुभन्दा फरक हुनु छ भने नकारात्मक घटनाका फाइदा पहिल्याउन सिक्नोस्, जस्तोसुकै ठूलो लक्ष्य पनि प्राप्त गर्न सक्नु हुन्छ ।”

त्यस क्रममा उनले सकारात्मक विचार हुने हो भने दुनियाँमा असम्भव भन्ने नै छैन भन्ने कुरा अनेक उदाहरण दिए । “तपाईंहरु जीवनमा जित्न चाहनुहुन्छ । अरुभन्दा फरक बन्न चाहनुहुन्छ ।” उनले सोधेँ, “ल भन्नोस्, तपाईंहरुमध्ये अहिलेसम्म क-कसले लक्ष्य बनाउनु भएको छ ?” एकजनाले हात उठाए र कापीमा लेखेको कुरा देखाए । “म नेपालकै धनी बन्न चाहन्छु…..।” विकाशानन्दले पढेर सुनाउन भ्याएका मात्र के थिए, १५ दिने कक्षा लिइरहेका करिब ६० जना प्रशिक्षार्थीमध्येबाट एकजनाले बीचैमा खिसी उडाए, “सोच्दासोच्दै बूढो हुने होला, यो जीवनमा त धनी हुन उही हो…..।”

माथिको सन्दर्भ एउटा सानो उदाहरण हो, हामी नेपालीमा कुन हदसम्मको नकारात्मक सोच छ भन्ने कुराको । सकारात्मक सोच विकासका बारेमा कक्षा लिइरहेका प्रशिक्षार्थीहरुको त यो हालत छ भने जन्मेर बुझ्ने अवस्था भएदेखि नै नकारात्मक सोच र संस्कारमा हुर्केका आम मानिसको हालत के होला ?

हामी लेखकहरुमै पनि नकारात्मक चिन्तनका अनेक उदाहरण छ । जस्तो, खगेन्द्र संग्रौला । उनी बोलीचालीका झर्रा शब्द प्रयोग गरेर लालित्यपूर्ण सिर्जना गर्नमा माहिर छन् । झिनो विषय टिपेर पनि पढुँपढुँ लाग्ने आलेख तयार गर्न सक्छन् । लोकपि्रयताका दृष्टिले पनि उनी अब्बल दर्जाका साहित्यिक सेलिब्रेटी हुन् । तात्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्धको आन्दोलनमा खरो उत्रिएर कलम चलाउने उनलाई नचिन्ने शिक्षित नेपाली विरलै होलान् । पत्रिका सम्पादकहरु उनका लेख प्राथमिकताका साथ स्थान दिन्छन् ।

कतिपयलाई लाग्दो हो, यति अग्लो उचाइ भएका लेखकका कृति हातोहात बिक्दा हुन् । विडम्बना भन्नुपर्छ, प्रकाशनको क्षेत्रमा आक्रामक रुपमा आएको संस्था फाइनपि्रन्टले प्रकाशित गरेका संग्रौलाका ‘सम्झनाका कुइनेटाहरू’, बालकथासंग्रह ‘मंगलीको अधुरो क’ र ‘आफ्नै आँखाको लयमा’ गरी तीन कृतिको वर्ष दिनको बिक्रीको कूल योगफल तयार गर्दा पनि १० हजार कट्दैन । तर, कृति बजारमा ल्याउनुअघि खास सार्वजनिक पहिचान नभएका बुद्धिसागर, सुबिन भट्टराईजस्ता नयाँ पुस्ताका लेखकका एउटै कृतिले बिक्रीमा १५ हजारको नेटो काटिसकेका छन् । जवकि संग्रौलाको ‘आफ्नै आँखाको लयमा’ गतवर्षको दुई लाख राशीको पद्मश्री पुरस्कारसमेत प्राप्त गरेको, हरेक शिक्षित नेपालीले पढ्नैपर्ने अब्बलकोटीको कृति हो ।

भ्रम नरहोस् Û पुस्तकको बिक्री संख्या गुणवत्ताको मापक होइन । प्रश्न यो मात्रै हो- आममान्छेले चिन्ने, जो कोहीले आँक्नै नसक्ने उचाइका सेलिब्रेटी लेखकका कृति नयाँ लेखकका कृतिजति पनि किन बिक्दैनन् ? जवकि माथि उल्लेख गरिएका पुस्तकमा संग्रौला कोही कसैमाथि अरिंगाल बनेर खनिएका छैनन् । समाजका लागि सकारात्मक सन्देश नै दिएका छन् । पाठकलाई उत्प्रेरणा नै दिएका छन् । परिवर्तनका संवाहक नै बनेका छन् ।

माथिको प्रश्नको उत्तर एउटै छ, संग्रौलाको नकारात्मक चिन्तन र आममान्छेमा परेको छाप । पत्रपत्रिकामा लेखका रुपमा पोखिने उनका चिन्तनले आममान्छेबीच उनलाई नकारात्मक कुरा लेख्ने लेखकको प्रतीकका रुपमा चिनाएको छ । कतिपयले त उनलाई “गाली शिरोमणि”को उपमा दिएको पनि सुनिएको छ । जसको असर उनका अजर, अमर कृतिहरुमा परिरहेको छ ।

लेखक तथा समीक्षक हरि अधिकारी अर्का उदाहरण हुन् । साहित्यवृत्तमा पुस्तकमाथिका उनका समीक्षात्मक टिप्पणी पढ्न आतुर हुनेहरुको संख्या निकै ठूलो छ । किनकि उनी कृति पढेर होइन, व्यक्तिको अनुहार हेरेर धुँवाधार गाली लेख्छन् । लेखाइ लालित्यपूर्ण हुन्छ । कुन शब्दलाई कुन ठाउँमा प्रयोग गर्न प्रयुक्त हुन्छ भन्ने कुरामा उनी प्रथम श्रेणीका प्रयोक्ता हुन् । उनले कुनै पुस्तकको प्रशंसा लेखे भने झूर र गाली लेखे भने किन्नलायक ठान्नेहरुको जमात निकै ठूलो छ । यस्ता लोकपि्रय, धुरन्धर समीक्षकको पुस्तक हातोहात बिक्नुपर्ने हो । सुन्दा अचम्म लाग्न सक्छ, रत्न पुस्तक भण्डारले गतवर्ष निकालेको उनको संस्मरणात्मक कृति ‘६० वर्षपछि’ एकवर्ष भित्रमा पाँचसय प्रति बिकेर पुनःमुदर््रण हुने अवस्थामा समेत पुगेन ।

अर्का उदाहरण हुन् गोविन्द वर्तमान । लेखनको पृथक शैली र विचार प्रवाहका दृष्टिले उनी विरलाकोटी लेखकमध्येमा पर्छन् । उनको कृति ‘सोह्र साँझहरु’ संस्मरणात्मक निबन्धको मानक नै मानिन्छ । तर दैनिक बोली व्यवहारमा उनी यति धेरै नकारात्मक कि जो कोहीलाई मान्छे नै नगन्ने । कमीकमजोरीका बाबजुद हरेक मान्छेमा केही न केही गुण हुन्छ भन्ने कुरा स्वीकार्नै नचाहने । त्यसै कारण उनी सीमित संख्याका साथीभाइबाहेक अरुका पि्रय हुनै सकेनन् । ५३ वर्षको अल्पायुमा गत वर्ष बितेका उनको तेह्रौं शोकतिथि कार्तिक १८ मा श्रद्धापूर्वक पंक्तिकार जब पशुपतिको वनकालीमा पुग्यो, उपस्थिति देखेर हतप्रभ भयो । आफन्त र परिवारजनबाहेक ३० जना पनि नदेख्दा पंक्तिकारका आँखा नै रसाए । सोच्यो, आखिर मरेर लैजानु केही छैन भने नकारात्मक दृष्टि फालेर आफन्त किन नकमाउने ?

तर, जन्मजात संस्कारको रुपमा जीनमै लिएर आएको बानी बदल्न त्यति सजिलोचाहिँ रहेन छ । आफ्नो विचार र व्यवहार बदलिहाले पनि अरुका दृष्टिमा सकारात्मक ठहरिन कठिन पर्ने । किनकि सुरुमा मान्छेले व्यक्तिलाई जसरी चिनेको हुन्छ, त्यो छाप हत्तपत्त मेटिन मुस्किल पर्दोरहेछ । कसैका कृतिमाथि सकारात्मक टिप्पणी लेख्यो भने पनि चाकडी ठहरिने । तैपनि पंक्तिकार आफूलाई देखिनसहने, खेदोपाइलो गर्नेहरुमा पनि गुणैगुण देख्ने अभ्यास गरिरहेकै छ ।

हामी नेपालीमा नकारात्मक सोच र चिन्तन कुन हदसम्म छ भन्ने कुराको उदाहरण अनलाइनहरुमा लेखिने पाठक प्रतिक्रिया र फेसबुकमा देखिने टिप्पणी हुन् । अचम्म लाग्छ, कुनै घटनालाई लिएर नकारात्मक कुरा कसैले लेख्यो कि लाइक र कमेन्टको ओइरो । सकारात्मक उर्जा दिने कुरा लेख्यो भने कमेन्टको सिला खोज्नु पर्छ । कमेन्ट आइहाल्यो भने पनि टिप्पणी लेख्नेकै तेजोवध गर्ने गरी ।

कहिलेकाहीँ त लाग्छ, प्राकृतिक सम्पदाका दृष्टिले वैभवशाली भइकन पनि हामी पछि पर्नुको कारण नै नकारात्मक चिन्तन हो । हामीले आमाको गर्भमा हुँदैदेखि हरेक कुरालाई नकारात्मक कोणबाट मात्र हेर्न सिक्यौँ । नकारात्मक सोचको संस्कारले हामीलाई राम्रा घटनामा पनि नराम्रो पाटोबाट सोच्न सिकायो । राज्य सञ्चालनको मियो मानिने राजनीतिकर्मीहरुमा विरोधीका सकारात्मक पक्ष देख्दै नदेख्ने, आफूलाई मात्र राम्रो र अब्बल ठान्ने चिन्तन हावी भयो । यही कारण राजनीतिक अस्थिरता, बेथिती र विसंगतिहरु मौलाए । ऐतिहासिक संविधानसभा समेत विघटन भयो । तर यो स्थितिको पनि उज्यालो पाटो छ । किनकि हरेक नकारात्मक घटनाको सकारात्मक पक्ष हुन्छ । अँध्यारो कालरात्रीपछि उज्यालो पक्कै आउँछ । के थाहा, देशले कोही युगपुरुष जन्माउन खोजिरहेको छ कि ?

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“नकारात्मक सोच कति घातक ?” मा प्राप्त 9 प्रतिकृयाहरू
  • Bhola Tiwari लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 15:07

    कहिलेकाहीँ त लाग्छ, प्राकृतिक सम्पदाका दृष्टिले वैभवशाली भइकन पनि हामी पछि पर्नुको कारण नै नकारात्मक चिन्तन हो । हामीले आमाको गर्भमा हुँदैदेखि हरेक कुरालाई नकारात्मक कोणबाट मात्र हेर्न सिक्यौँ । नकारात्मक सोचको संस्कारले हामीलाई राम्रा घटनामा पनि नराम्रो पाटोबाट सोच्न सिकायो । राज्य सञ्चालनको मियो मानिने राजनीतिकर्मीहरुमा विरोधीका सकारात्मक पक्ष देख्दै नदेख्ने, आफूलाई मात्र राम्रो र अब्बल ठान्ने चिन्तन हावी भयो । यही कारण राजनीतिक अस्थिरता, बेथिती र विसंगतिहरु मौलाए । ऐतिहासिक संविधानसभा समेत विघटन भयो । तर यो स्थितिको पनि उज्यालो पाटो छ । किनकि हरेक नकारात्मक घटनाको सकारात्मक पक्ष हुन्छ । अँध्यारो कालरात्रीपछि उज्यालो पक्कै आउँछ । के थाहा, देशले कोही युगपुरुष जन्माउन खोजिरहेको छ कि ? – See more at: http://www.onlinekhabar.com/2013/09/113590/#sthash.qfClIcaN.dpuf

  • deepak khanal लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 16:19

    shakaratmak soch le hune bhai hijo ko football nepal le jiththyo shabai le shakaratmak socheka thiye ……

  • dip लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 21:25

    अाफ्नो काममा सवैले सकारात्मक सोचे अवश्य विकास हुन्छ । हामी अरूको विषयमा वढी जान्ने भयाै अाफ्नो विषयमा शुन्य । धन्न वाँचेका छाै हामी ।

  • prakash लेख्नुहुन्छ    |   2070 भदौ 25 गते 6:34

    हामी नेपालीमा नकारात्मक सोच र चिन्तन कुन
    हदसम्म छ भन्ने कुराको उदाहरण
    अनलाइनहरुमा लेखिने पाठक प्रतिक्रिया र
    फेसबुकमा देखिने टिप्पणी हुन् । अचम्म
    लाग्छ, कुनै घटनालाई लिएर नकारात्मक
    कुरा कसैले लेख्यो कि लाइक र
    कमेन्टको ओइरो । सकारात्मक उर्जा दिने
    कुरा लेख्यो भने कमेन्टको सिला खोज्नु पर्छ

  • gaire kishna लेख्नुहुन्छ    |   2070 भदौ 25 गते 12:18

    yo ta bilkul sahi ho rammro laggyo .

  • mohimura लेख्नुहुन्छ    |   2070 भदौ 25 गते 16:08

    कुरा गरयो कुरैको रास मात्र

  • Birendra Katuwal लेख्नुहुन्छ    |   2070 भदौ 26 गते 23:26

    नकारात्मक चिन्तन प्रगतिको बाधक हो भन्ने कुरात बुझियो | तर आम पाठक नै नकारात्मक सोचले ग्रसित छन् भन्ने यो आलेखको एड्भोकेसी सत्यको छैन | लेखको स्वीकारोक्तिमा केहि बिरोधाधाशहरू देखिनछ | खगेन्द्र संग्रौला र गोबिन्द बर्तमान का पुस्तकहरू अती नकारात्मक भएका कारणले बिकेनन भनेर स्वीकार्नु भयो | फेरी तेतिखेरै के पनि स्वीकार्नु भयो भने नेपालका चर्चित संचार माध्यमहरूले उहाहरूको मान देख्ने बित्तिकै लेख छापी दिन्छन अरे | त्यसो हुनाले समस्या पाठकमा होइन, संचार माध्यमहरू मा पनि छ | लोकले अस्वीकार गरेका बिचार र व्यक्तिहरू लाई प्राथमिकता दिने अनि आलोचाना भयो भनेर हुन्छ ? सर्बहाराका नेताहरू स्वास्नीको नाइटो दुख्दा उचार गर्न सिंगापुर पुग्छन | उनीहरूकै बिचार संचार माध्यमलाई प्रिय लाग्छ, अनि आलोचना गरे भनेर हुन्छ ?

  • perisha bhatta लेख्नुहुन्छ    |   2070 भदौ 28 गते 19:10

    nepali vandhai ma negative thinking ka matra hundainan.tasila positive soch ko bikash garna narrow minded ka nepaliharu ma sa chetina filaunu parcha.

  • deepak लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:34

    Abiral G junsukai kurama sakaratmak soch kaha hun6 ra ? bastabma khagendra le aafno euta lekhma “e aamaka ghoda chadhneharu” bhanne jasta ati tallo estarko sabda prayog gareko karan eniprati ma kahile pani sakartmak huna sakina.