OnlineKhabar.com

राजनीतिको क्रीडास्थल बन्दै छ पर्यटन

2070 असोज 1 गते 13:17 मा प्रकाशित

शिव अधिकारी

धेरै अवरोध र अभावहरुको सामना गर्दै आइरहेको नेपालको पर्यटनमा अहिले नीतिगत पक्ष र कार्यक्रमिक पक्ष दुबै एकैचोटि सुधार गर्नुपर्ने आवश्यकता खडि्कएको छ । यहाँ विभिन्न किसिमका ऐननियम ल्याइएका छन्, तर कार्यान्वयन भएका छैनन् । विभिन्न भाषणबाजीहरु हुने गरेका छन्, तर त्यसबाट पर्यटन क्षेत्रले राहत पाउन सकेको अवस्था छैन । लामो समयदेखिको राजनीति अस्थिरताले गर्दा देशको समग्र आर्थिक क्षेत्र समस्याग्रस्त भइरहेको अवस्थामा पर्यटन क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन ।Shiva
नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै अवैधरुपमा व्यवसाय सञ्चालन गर्ने गिरोहहरुको सक्रियता अहिले चरम उत्कर्षमा पुगेको छ । अहिले पनि करिब ३०/३५ वर्ष पुरानो नियम कानूनबाट नेपालको पर्यटन क्षेत्र सञ्चालित भइरहेको छ । पुरानाभित्र पनि राम्रा नियम कानून नभएका होइनन् तर त्यसको कमै मात्र कार्यान्वयन भएको पाइन्छ । पटक-पटक सरकार परिवर्तन भइरहेपनि पर्यटन क्षेत्रलाई ध्यानमा राख्न नसक्दा समस्याहरु एकमाथि अर्को गर्दै थपिदै गइरहेका छन् ।

अहिले आदर्श छाट्नुको सट्टा काम गर्नुपर्ने बेला आएको छ । जिम्मेवार राजनीतिक दलका नेता कार्यकताहरुको गैरजिम्मेवार बोलीहरुको हेक्का राख्ने बेला आएको छ अनि राज्य पक्षबाट पर्यटन क्षेत्रका लागि के गर्‍यो र के गरिरहेको छ ? अब त्यसको लेखाजोखा गर्दै नयाँ कार्ययोजना तर्जुमा गर्नुपर्ने बेला आइसकेको छ । पर्यटन क्षेत्रको समस्या के भन्ने विषयमा हामीमा अझै मतविमत कायम छन् । विशेषतः पर्यटन क्षेत्रको समस्याको मुल जड भनेकै राजनीतिक चलखेल र त्यसको छत्र छायाँमा रहेर विभिन्न किसिमका हर्कत गर्दै जानु हो । हरेक क्षेत्रको तालमेल नमिल्नु र ठालु भनाउँदाहरुको हैकमबादी चरित्रले गर्दा अझै पनि पर्यटन क्षेत्र माथि उठ्न सक्ने अवस्था देखिदैन । पछिल्लो समयमा पर्यटन क्षेत्रमा कमाउ धन्दामा लाग्नेहरुको सञ्चाल बलियो बन्दै गइरहेको अवस्था छ । विनादर्ता व्यवसाय सञ्चालन गर्ने त्यस्ता गिरोहहरुले दिनप्रतिदिन कुनै न कुनै हिसावले आफ्नो गतिविधिहरु बढाइरहेका तथ्यहरु हामीसँग छन् । विभिन्न एनजिओ /आईएनजिओदेखि साईवर, पसल थापेर बसेकाहरुले समेत निर्धारित कुनै पनि मापदण्ड पूरा नगरिकन पर्यटकलाई दिग्भ्रमित पार्दै व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । जसले गर्दा पर्यटन व्यवसायीलाई त समस्या परेको छ नै त्यसबाट राज्यले पनि घाटा बेहोर्नु परिरहेको छ ।

अहिले विभिन्न बहानामा हुने बन्द, हड्ताल जस्ता पर्यटन घातक क्रियाकलापहरुले निरन्तरता पाइरहेका छ । चुनावी माहोल सृजना भइरहेको बेला देशमा बन्द, हड्ताल जस्ता अराजक क्रियाकलापहरुले निरन्तरता पाइरहेको हुनाले नेपाल भ्रमणमा आएका पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेर थप त्रासदीपूर्ण अवस्था सृजना भइरहेको छ । यसले पर्यटन क्षेत्रमा तत्कालीन र दीर्घकाीलन असर पारिरहेको भएपनि आम पर्यटन व्यवसायी, सरोकारवाला निकायहरु मुकदर्शक भएर बसिरहेका छन् । सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न सकेको खण्डमा यति ठूलो सम्भावना बोकेको हाम्रो देशमा बीस लाख पर्यटक भित्र्याउनु कुनै चमत्कारिक विषय होइन । हामी प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा हरेक हिसाबले अन्य राष्ट्रहरुको तुलनामा धेरै माथि छांै । यस क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्न सकेको खण्डमा देशलाई आर्थिकरुपमा माथि उठाउन ठूलो भूमिका खेल्दछ । तर पनि सरोकारवाला निकायहरुले यस क्षेत्रलाई गम्भिर रुपमा नलिदाँ यसले जुन रुपमा फड्को मार्नुपर्ने हो, त्यो हुन सकिराखेको छैन ।
दशवर्षे लामो सशस्त्र गृहयुद्धपश्चात् अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति फिजिएको गलत सन्देशहरुलाई हटाई पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले ठूलो रकम खर्चेर तामझामका साथ मनाईएको पर्यटकीय अभियानहरु नेपाल पर्यटन वर्ष २०११ र लुम्बिनी भ्रमण वर्ष २०१२ बाट खासै उल्लेख उपलब्धि हासिल हुन नसकेको अवस्थामा दीर्घकालीन पर्यटन विकासका लागि भन्दै कुनै पनि तयारीविनै घोषणा गरिएको टुरिज्म भिजन २०२० अभियानमा समेत एक किसिमको ब्रेक लागेको छ ।

नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्ड जस्ता पर्यटन उद्योगका जिम्मेवार निकायहरु लामो समयसम्म राजनीतिक खिचातानीमा तानिनुले पर्यटन क्षेत्र अनिर्णयको बन्दि बन्नुपरेको तितो यथार्थ हामी सामु छ । पर्यटकको आगमनमा केही हदसम्म वृद्धि भए पनि सरकारले आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलगायतका कामहरु गर्न सकिराखेको अवस्था छैन । अर्कोतर्फ व्यवसायिक हकहितका लागि कार्य गर्ने भन्दै स्थापना भएका थुप्रै व्यवसायिक संघसंस्थाहरु पनि राजनीति प्रभाव र दबावमा पर्नुले पर्यटन क्षेत्र थप संकटग्रस्त बन्दै गइरहेको हो ।

यी हरेक पक्षको समाधानका निम्ति सबैभन्दा पहिला समयसापेक्ष नीति नियम ल्याउनुपर्दछ । त्यसका लागि स्वयं पर्यटन व्यवसायीहरु जिम्मेवार भएर लाग्नुपर्दछ र राज्य पक्षले निजी क्षेत्रको समस्याको सुनुवाइ गरी उचित मागहरुको सम्बोधन गर्दै आफ्नो कार्ययोजना तर्जुमा गर्नुपर्दछ । राज्यले एउटा छुट्टै अनुगमन टोली गठन गरी यस क्षेत्रमा अवैधरुपमा सञ्चालन गरिएका व्यवसायहरुलाई कानुनी दायरामा ल्याउन पहल गर्नुपर्दछ र त्यसमा निजी व्यवसायीक संघसंगठनहरुले गुण र दोषको आधारमा विरोध र सहमति जनाउने प्रणालीको विकास गर्नुपर्दछ । त्यससँगसँगै आवश्यक पर्यटकीय पूर्वाधारहरुको विकास र विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्दछ । यदि त्यसो गर्न सकिएन भने नेपालको पर्यटन क्षेत्र अबैध व्यवसाय गर्नेहरुको प्रमुख अखडा बन्ने कुरामा दुईमत हुन सक्दैन । त्यसको प्रभावबाट सम्मानित समग्र पर्यटन क्षेत्र धरासायी बन्ने र एकपछि अर्को गर्दै सबै बढारिँदै जाने निश्चित छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“राजनीतिको क्रीडास्थल बन्दै छ पर्यटन” मा प्राप्त 3 प्रतिकृयाहरू
  • Ashok Tiwari लेख्नुहुन्छ    |   2070 असोज 2 गते 17:45

    yes its true

  • razoo sharma लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:31

    dherai ramro ra sandrvik kura ho shiv g thik vannu vayo