OnlineKhabar.com

पुस्तक समीक्षा : भानुभक्तले लेखे पत्रकारिताको शब्दकोष

2070 असोज 5 गते 9:59 मा प्रकाशित

५ असोज, काठमाडौं । पत्रकारिता र आमसञ्चार क्षेत्रका अध्येता/अन्वेषक भानुभक्त आचार्यले ‘ग्लोसरी अफ जर्नलिज्म एन्ड मास कम्युनिकेसन’ नामक पत्रकारको शब्दकोष बजारमा ल्याउनुभएको छ । गृष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना तथा पत्रपत्रिकाको इतिहास (२०२४), रामराज पौड्यालको ‘पत्रकारिता’ (२०२७), जस्ता फरक एवम् अति नै गहन पुस्तकहरुको लहरमा सूचीकृत हुन सक्छ आचार्यको यो पुस्तक ।

आमसञ्चार र पत्रकारिताका क्षेत्रमा शिखर व्यक्तित्व प्राध्यापक रामकृष्ण रेग्मी भन्नुहुन्छ- ‘छापामाध्यमदेखि डिजिटल युगमा प्रचलित सबै मुख्य शब्दहरुको संकलन, नेपाली अर्थ र दुवै भाषामा दिइएको व्याख्याले समसामयिक पत्रकारिताबारे बुझ्नका लागि नेपाली जिज्ञासुहरुलाई फाइदा पुग्नेछ ।’

Journalism-Glossary-cover-pपत्रकारितासँग सम्बन्धित शब्दहरुको नेपाली रुपान्तरणले भाषाका दृष्टिकोणबाट पनि यो पुस्तक ज्यादै उपयोगी छ । यस पुस्तकका बारेमा प्रतिक्रिया दिँदै नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुँमागाई भन्नुहुन्छ ‘नेपालको नयाँ पुस्ता वास्तवमै भाग्यमानी छ कि उनीहरुले यस्ता पुस्तकहरू पढ्न पाएका छन् ।’ नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले भन्नुहुन्छ- ‘पत्रकारिता शिक्षाको अध्ययनबिना यस क्षेत्रमा प्रवेश गरेका आफूजस्ता पाठकहरुका लागि यस पुस्तकका हरेक पानामा ब्रेकिङ इन्फरमेसनहरू छन् ।’

यो पुस्तक विभिन्न पाँच कारणले महत्वपूर्ण मान्न सकिन्छ ः पहिलो, यो नेपालकै इतिहासमा पहिलो विस्तृत पत्रकारिता शब्दकोष हो, जसमा तीन हजार शब्दहरूको करिब ९ हजार अर्थ, व्याख्या र विश्लेषण प्रस्तुत गरिएको छ । यसअघि पनि सानातिना एकाध पत्रकारितासम्बन्धी लघुकोषहरू नदेखिएका होइनन् तर तिनमा जिज्ञाषुहरूलाई आस्वस्त पार्न सक्ने विस्तृत ज्ञान समेटिएको थिएन । छापादेखि रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिता र सोसल मिडियाको चरणसम्म आइपुग्दा एउटै शब्दका विभिन्न सन्दर्भमा विभिन्न अर्थहरू हुनसक्छन् । तसर्थ, एउटै शब्दका पाँच तहसम्म अर्थ दिइएकाले बहुअर्थी शब्दहरूमा पाठकहरू सजिलै प्रस्ट हुन सक्नेछन् ।

दोस्रो, यो पुस्तक नेपाली र अंङ्ग्रेजी दुवै भाषामा प्रस्तुत गरिएको छ । मूलशब्द अङ्ग्रेजीमा, त्यसपछि नेपालीमा शब्दार्थ, परिभाषा र टिप्पणी दिइएको छ भने त्यसलगत्तै अंग्रेजीमा त्यसको अनुवाद जस्ताको तस्तै समेटिएको छ, जसले गर्दा कुनै एक भाषामा मात्र दक्षता भएका पाठकलाई यसले सजिलै अर्थ स्पष्ट पार्न सक्छ । साथै, दुवै भाषामा परिभाषा र विश्लेषणहरू प्रस्तुत गर्दा एउटा भाषामा हुनसक्ने अस्पष्टतालाई अर्को भाषामा दिइएको अनुवादले छर्लङ्ग पार्दछ । वर्तमान परिप्रेक्ष्यमा नेपालमा धेरै व्यावसायिक पत्रकारहरूको नेपाली भाषामा दक्षता भएकाले यो शब्दावली अवश्य पनि उपयोगी हुनेछ भने अंग्रेजी माध्यमबाट आफ्नो अध्ययनलाई अघि बढाइरहेका पत्रकारिताका विद्याथीहरुका लागि पनि यो पुस्तक उत्तिकै लोकप्रिय बन्न सक्छ ।

तेस्रो, यो पुस्तकमा पत्रकारितासम्बन्धी धेरै शब्दहरूलाई नेपालीकरण गर्ने जमर्को गरिएको छ, जस्तै : ‘लिसनरसिप’को श्रोतृत्व, ‘रिडरटोरिअल’को पाठकीय, ‘कपी-क्याट क्राइम’को अनुसरित अपराध, ‘रिडरसिप’को पाठकत्व, ‘सर्भेलन्स’को निगरानी, ‘ग्ल्यामर’को सौन्दर्य, ‘इन्फोटेनमेन्ट’को सूचनारञ्जन, ‘गार्ड-डग थिअरी’को प्रतिरक्षा सिद्धान्त, ‘इमेल’को विद्युतीय डाँक आदि । यसले नेपाली पत्रकारिता क्षेत्रका साथै भाषा-साहित्य क्षेत्रलाई समेत योगदान पुर्‍याएको मान्न सकिन्छ ।

चौथौ, यो पुस्तकको अर्को महत्वपूर्ण विशेषता भनेको पत्रकारिता र आमसञ्चार क्षेत्रमा नेपालमा प्रचलित दर्जनौ शब्दहरूलाई समेट्नु हो, जस्तै : गिद्धेप्रेस, सनद, डोके एफएम, कटुवालप्रथा, थाहा आन्दोलन, शिलालेख, गाइने, हुलाकी, गोरखापत्र आदि । नेपालमा परम्पारादेखि चल्दै आएका आफ्नै सन्दर्भ र अर्थ भएका शब्दहरूलाई समेटेर यो शब्दावलीले नेपालीपन पस्कने काम गरेको छ । यसले भविष्यमा पत्रकारिता र सञ्चार क्षेत्रमा प्रचलित नेपाली शब्दहरूलाई समेत अन्तर्राष्ट्रियकरण गर्न सघाउँछ । अझ, छिमेकी देशहरुमा प्रचलित दूरदर्शन, दूरभाषा, रूपवाहिनीजस्ता शब्दहरूलाई समेत यो शब्दावलीले समेटेको छ । यसबाट नेपाली पत्रकारिताको साहित्य निर्माणमा यो पुस्तकले उल्लेखनीय योगदान गरेको मान्न सकिन्छ ।

पाँचौ, विश्वमा सन् २०१२ सम्ममा प्रचलनमा आएका विभिन्न नवीन शब्दहरूलाई यो शब्दावलीमा समेटेको पाइन्छ । उदाहरणका लागि ‘सेक्सटिङ’ (सेक्स टेक्सटिङ), ‘कपिलेफ्ट’ (कपिराइटको समकक्षी शब्द), ‘एक्सफर्मेसन’

(इन्फर्मेसनको विपरितार्थ), ‘केबलगेट’ (वाटरगेटको समकक्षी), ‘ब्लगेभ्रिटी’ (ब्लगंसेलेब्रिटी), ‘फिफ्थ इस्टेट’ (फोर्थ इस्टेटको पहरेदार), ‘मिन्टो पिरामिड’ (रिसर्च लेखनशैली जनाउने शब्द), ‘मोजो’ (‘मोबाइल जर्नलिस्ट’को छोटकरी) जस्ता सयौं नयाँ र नौला शब्दहरू छन्, जसलाई यो शब्दावलीले नेपाली पत्रकारिताको सन्दर्भमा परिचित गराएको छ ।

हुन त यो पुस्तकमा सुधार्नुपर्ने पक्षहरू पनि नभएका भने होइनन् । जस्तो कि कतिपय शब्दहरूमा अझै बढी व्याख्या र टिप्पणी भइदिएको भए पाठकहरूको जिज्ञासालाई समाधान गर्न सकिन्थ्यो । त्यस्तै, नेपाली र अङ्ग्रेजी भाषामा ठ्याक्कै अनुवाद गर्ने प्रयासले यी दुवै भाषाको स्वतन्त्र प्रवाहमा पाइने माधुर्यलाई असर पारेको छ । केही स्थानमा शब्दकोश र छपाइशुद्धिका नियमहरू उल्लङ्घन भएका छन्, तिनमा आवश्यक सुधार गर्न आवश्यक छ । त्यसैगरी, छापामाध्यमका बढी शब्दहरू समेटिएको देखिने यस शब्दावलीमा प्रसारण पत्रकारिताका कतिपय महत्वपूर्ण शब्दहरू छुटेका छन्, जसलाई आगामी संस्करणमा समेट्नु जरुरी छ ।

यो पुस्तक कुनै लेखकीय वा साहित्यिक भावना समेटिएको दस्तावेज होइन, सामूहिक विद्व्ताको सङ्ग्रह हो, जसमा रहेका सूचना वा जानकारीहरू तथ्यमा आधारित हुन्छन् तथा विभिन्न सन्दर्भमा परीक्षण एवम् परिमार्जन हुँदै जान्छन् । यसर्थ, शब्दाकोश निर्माण निरन्तर चलिरहने प्रक्रिया हो र यसको कहिल्यै अन्त्य हुँदैन । शब्दावलीका सङ्कलक/सम्पादक आचार्यले आफ्नो जीवनका महत्वपूर्ण पाँच वर्षहरू यो पुस्तकको तयारीमा विताएको बताएका

छन् । विदेशी विश्वविद्यालयमा भएका स्रोत-साधनलाई समेत उपयोग गरेर तयार पारिएको यस शब्दावलीले नेपाली पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई ठूलै गुन लगाउने अपेक्षा गर्न सकिन्छ ।

विनय देवकोटाबाट

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“पुस्तक समीक्षा : भानुभक्तले लेखे पत्रकारिताको शब्दकोष” मा प्राप्त 6 प्रतिकृयाहरू
  • prithvi raj aryal लेख्नुहुन्छ    |   2070 असोज 5 गते 11:33

    This book is really good not only for college and university level students majoring in Journalism and Mass Communication but also helpful for professionals.
    Proper books like this were not available when I was in university.

  • hem mahaju लेख्नुहुन्छ    |   2070 असोज 5 गते 12:53

    Very good Job sir.

  • Shree Kantha Pokhrel लेख्नुहुन्छ    |   2070 असोज 5 गते 14:09

    Thank you and comgratulations for pubilshing such a valuable and historical glossary in field of journalism for nepal

  • PREM ARYAL लेख्नुहुन्छ    |   2070 असोज 5 गते 17:02

    incredible book!!! helpful glossary for those who works on media sector. good job Bhanu sir

  • नवराज महतार लेख्नुहुन्छ    |   2070 असोज 5 गते 19:24

    नेपाली पत्रकारीताको इितहाँसमा यो पुस्तकले एक नयाँ अायाम मात्रै थपेको छैन् । नेपालमा नपढेर वैकल्पीक पेशाका रूपमा अँगाल्ने प्रवृतीलाइ केही हद सम्म भएपनी अली परीपक्क बनाउने देखीन्छ । यो पुस्तक सबै नेपालका सञ्चारमाध्ययममा राख्नु र सबैले अध्ययन गर्नु जरूरी मात्रै छैन अनीवार्य नै छ । यसका लागी पुस्तकका लेखक श्रदय भानुभक्त अाचार्य सर अाभारको पात्र बन्नु भएको छ ।

  • राजेश्वर उदय, तानसेन लेख्नुहुन्छ    |   2070 असोज 5 गते 21:36

    निरन्तर खोज, सतप्रयास, सकारात्मक सोच, समाजउपयोगी कृती, पत्रकार लगायत समग्र हितकारी पुस्तक अमूल्य नीधि …..आभारका साथ कृतज्ञता ज्ञापन गर्दछु.
    भविष्यमा पनि फरक बिधाका फरक द्रिश्तिकोंका साथ प्रकाशनको अपेक्षा सहित ..शुभकामना