कृष्ण अविरल
बस यात्राका बेला सहज भएसम्म किताब पढ्ने बानी अनुरुप त्यो दिन पनि पढ्दै थिएँ, गीतकार गायत्री लम्सालको ‘आकाश हेर्दै दोबाटोमा’ । कपनबाट माइक्रोबसमा न्युरोड आउने क्रम थियो मेरो । छेउमा बसेका एकजना अपरिचित यात्रुलाई पुस्तकभित्रका गीतले निकै मजाले आकषिर्त गरेछ । उनले एकछिनका लागि किताब मागे । डायरी र कलम झिकेर दुई-चार पंक्ति धमाधम सारे । अनि भने, “साँच्चै राम्रा गीत रहेछन् । यति राम्रा गीत लेख्ने मान्छे अहिलेसम्म किन ओझेल परेका होलान् है ?”
हामीले परिचय साट्यौँ । अचम्म लाग्यो । आफू पनि गीतकार हुनुको नाता एकप्रकार गायत्रीजी प्रति आरिस पनि जाग्यो । किनकि साहित्यसँग गोरु बेचेको साइनो समेत नभएका ती व्यक्तिले गायत्रीजीको गीत लेखनको निष्कपटभावले प्रशंसा गरे । त्यसपछि मैले उनको कृति झनै ध्यान दिएर पढेँ । किनकि एउटा सामान्य मान्छेलाई पनि चुम्बकले झैँ आकषिर्त गर्नुका पछाडि गायत्रीजीका गीतमा छ चैँ के ?
नदी कति दुख्छ होला किनारालाई छोड्नु पर्दा
तारा टिप्नुजस्तै रैछ, एउटा साथी जोड्नु पर्दा
मानव अतिक्रमण नभएको जंगलबीचबाट कलकल बगिरहेको खोलाको पानी जस्तै रहेछन् उनका गीत । जहाँ देखासिकी र निर्लज्ज नक्कलको प्रदूषण पटक्कै छैन । यौनकर्मीका योनीजस्ता गीति-बिम्ब पढ्दापढ्दा वाक्क भइसकेका पाठकका लागि गायत्रीका गीतले भर्जिनटीको महसुस गराउने पक्का छ । गीतका बारेमा चासो नै नभएकाहरुले पनि उनका सिर्जनामा नयाँपनको स्वाद भेट्टाउन सक्छन् ।
संसारलाई हेर्न सगरमाथा बारीमा उभिन्छ
शान्तिको पाइलो जहाँ टेके पनि लुम्बिनी पुगिन्छ
उनका गीतमा राष्ट्रियताको भाव छ । सुन्दर विपरित लिंगी देख्दा युवा-युवतीका मनमा उम्रने आकर्षणजन्य आग्रह छ । श्रीम्ाान् विदेशिएपछि तड्पिएकी पत्नीको पीडाजन्य गुनासो छ । आमाको पुकारा छ । युगल जोडीको जुहारी छ । जातीय विभेद तोड्ने संकल्प छ । अनि युद्धले कोपरेको कोमल मनको आक्रोश छ । समग्रमा भन्नुपर्दा संग्रहभित्र सबै बान्कीका गीत छन् ।
पोहोर साल जमरामा रगत पोतेकोथ्यो
पिंङडाँडामा खोसि्रएर लास छोपेकोथ्यो
न त चाचा, न त चिची, न त कतै नाना
सयपत्री रमाएन फूलको बगैँचामा
सरल बिम्बका माध्यमले मर्मभेदी सन्देश पस्कने गायत्रीका संग्रह भित्रका सिर्जना एकसे एक छन् । विदेशी एवम् पाका सर्जकहरुका बिम्ब, प्रतीक र शैली सुटुक्क चोरेर मौलिक गीतकार हुनेहरुको लहर चलिरहेका बेला यिनले साँच्चै निख्खर र मौलिक बान्कीका गीतहरु पस्किएर उनले आफ्नो अलग पहिचान बनाएका छन् । गीत पढिरहँदा लाग्छ, अब यिनी ओझेल पर्नु हुँदैन । चर्चाको बजारमा आउनै पर्छ । नाम चलेका गायक-गायिकाले यिनका गीत खोजीखोजी गाउनै पर्छ ।
तीनजुरे मिल्के गुराँसै फुल्दा, गाउँवेंसी गरुँला
सलल बग्ने तम्मरको पानी, अञ्जुली भरुँला
सिमाली सेउली खेलौँला, अँगालो भित्र बेरौँला, साइँला…..।
कूल ८८ वटा गीत संग्रहित यस कृति भित्रका कुनैकुनै गीत पढ्दा भने छन्द, लय नमिलेको हो कि जस्तो पनि लाग्छ । तर ती सबै गेयात्मक दृष्टिले बान्की मिलाएर सिर्जना गरिएका छन्, किनकि उनी आफैँ पनि गायक-लोकलय संकलक पनि हुन् । भावमा शब्दको यस्तो मिठोसँग विन्यास गरिएको छ कि कहीँ खोँचे परेको अनुभव हुँदैन । मानौँ उनका गीत पार्लरबाट भर्खरै सोह्र श्रृंगार गरेर निस्केकी सोडषी हो ।
देउरालीमा देखुँ लाग्छ, चौतारीमा भेटुँ लाग्छ
छायाँ मात्रै पाए पनि बाटो छेकुँ-छेकुँ लाग्छ ।
झट्ट सुन्दा कुनै युवती हो कि भन्नेजस्तो लाग्ने नाम भएका यी गीतकार कर्मका हिसाबले इटहरी नगरपालिकाका कर्मचारी हुन् । इटहरी क्षेत्रका जुझारु समाजसेवी । राजनीति आस्थाको पाटोबाट एमालेका बफादार कार्यकर्ता पनि । तर यो कृतिले उनको आमपहिचान बदलिदिएको छ । उनलाई अब ओझेल परेका अब्बलकोटिका गीत सर्जक हुन् भन्दा फरक पर्दैन पनि । उनका सिर्जनामा त्यस्तो विशेष गुण नदेखेका भए नेपाली गीत-संगीतका शिखर व्यक्तित्व अम्बर गुरुङ र साहित्यविधाका हस्ती डा. अभि सुवेदीले भूमिका लेखेर प्रशंसामा शब्द किन खर्चन्थे होला र !
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
jayatri kaka,,,maile mani tapai ko bare ma thaha payee hai ,,, australia bata ,,, batiz
mofsal ma basera sahitya sirjana garne gayatri lamsal natale mero hajurba bhaya pani uhako kabyatmak chhamatalai prasansa garda natabad jhalkinna jasto lagdaina,kinaki uhaka sirjana ma gambesi ko spandan cha,chutari ko sirsir batas cha ra arun nadi ko suseli cha , uchit sangit ra swor pay uhaka geetharu nepali ka oth oth ma gunguninechan…
mofsal ma basera sahitya sirjana garne gayatri lamsal natale mero hajurba bhaya pani uhako kabyatmak chhamatalai prasansa garda natabad jhalkincha jasto lagdaina,kinaki uhaka sirjana ma gambesi ko spandan cha,chutari ko sirsir batas cha ra arun nadi ko suseli cha , uchit sangit ra swor pay uhaka geetharu nepali ka oth oth ma gunguninechan…
gayatri lamsal nai chhan ek jana hasyabyangyakaar syangjama.