OnlineKhabar.com

विजयी चान्सलर मर्केल प्रतिद्वन्द्वीसँग गठबन्धनका लागि खुला

2070 असोज 7 गते 21:18 मा प्रकाशित

७ असोज, बर्लिन । जर्मनीका चान्सलर एङ्गेला मर्केले यसअघि भएको निर्वाचनमा सजिलै विजय हासिल गरे पनि आफ्नो वर्तमान गठबन्धनका सहयोगी गुमाएपछि सोमबार आफू मध्यबामपन्थी प्रतिद्वन्द्वी दलसँग गठबन्धन सरकार गठन गर्न तयार रहेको बताउनुभएको छ ।

बर्लिनमा उहाँको क्रिस्चियन डेमोक्र्याटिक पार्टीको मुख्यालयमा खुसी मनाइरहेका समर्थकहरूको स्वागत स्वीकार गर्दै चान्सलर मर्केलले आफूहरू वार्ताका लागि खुला रहेको बताउनुभयो । उहाँले पहिले एसपीडी (सोसियल डेमोक्र्याट)का अध्यक्षसँग सम्पर्क गरेको र उहाँले पहिले शुक्रबार पार्टीको बैठक बस्ने बताउनुभएको जानकारी दिनुभयो ।

साथै उहाँले पर्यावरणवादी गि्रन्ससँग पनि गठबन्धन गर्न सकिने सम्भावनलाई अस्वीकार गर्नुभएन । निर्वाचन अभियानमा चान्सलर मर्केललाई युरोपको आर्थिक सङ्कटमा मुलुकलाई जोगाउन सुरक्षित हातको रूपमा हेरिएको थियो । यस निर्वाचनमा फ्रि डेमोक्र्याटिक पार्टी भने पराजित भएको छ ।

यसले चान्लर मर्केलको क्रिस्चियन डेमोक्र्याटिक युनियन (सीडीयु) लाई नयाँ साझेदारको आवश्यकता पर्नेछ । यसो भए पनि यी दुबै बामपन्थी दलहरूसँगको साझेदारी भने सजिलो नुहने अनुमान गरिएको छ ।

यसैले सोसियल डेमोक्र्याटिक पार्टी (एसपीडी) सँगको दक्षिणपन्थी तथा बामपन्थी दलको बृहत गठबन्धन सन् १९९० पछि सबैभन्दा राम्रो विकल्पको रूपमा देखिएको छ । निर्वाचनमा मर्केलको परम्परावादी दलले ४१.५ प्रतिशत मत प्राप्त गरेको छ भने एसपीडीले २६ प्रतिशत मत प्राप्त गरेको छ । चान्सलर मर्केलले एसपीडीसँग सन् २००५-२००९ सम्म गठबन्धन बनाइसक्नुभएको छ । वर्तमान प्रतिद्वन्द्वी उम्मेदवार पिर स्टिनब्रुक त्यस समयमा अर्थमन्त्री हुनुहुन्थ्यो ।

स्टिनब्रुकले यससम्बन्धी निर्णय चान्सलर मर्केलले गर्नुपर्ने बताउनुभएको छ । सन् २००९ को निर्वाचनमा एसपीडीले नराम्रोसँग पराजय भोगेपछि त्यसबेलाको कमजोरी यस दलका सदस्यहरू दोहोर्‍याउन नचाहने विश्लेषकहरूले बताएका छन् ।

अर्को विकल्पको रूपमा गि्रन दलसँगको गठबन्धन पनि हुनसक्ने बताइएको छ । यस दलले ८.४ प्रतिशत मत प्राप्त गरेको छ । यी दुई दलबीच नीतिगत भिन्नताका कारण उनीहरूबीचको गठबन्धन सफल भएको थिएन । रासस/एएफपी

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।