OnlineKhabar.com

गीतकार पौडेलको ‘प्रभाव’ गीति एल्बमको विमोचन

2070 असोज 10 गते 14:40 मा प्रकाशित

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा रही विगत दुई दशकदेखि नेपाली साहित्यको क्षेत्रमा मूलत गीत र कविता विधामा सक्रिय रहेकी गीतकार ज्योति पौडेलद्वारा रचना गरिएका गीतहरुको गीतिचक्का (गीति एल्बम) “प्रभाव” को एक भव्य समारोहका बीच संयुक्त राष्ट्र संघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले न्यू योर्क ज्याक्सन हाइटस्थित हिमालयन याक रेष्टुरेण्टको सभाहलमा विमोचन गर्नुभयो । संगीतकार आलोक शर्माद्वारा संगीतबद्ध गरिएको उक्त गीति एल्बमका पाँचवटा गीतहरु मा रामचन्द्र काफ्ले, अञ्जु पन्त, भानुभक्त ढकाल, आलोक शर्मा, इन्दिरा जोशी र स्वरुपराज आचार्यले स्वर दिनुभएको छ ।3

यो एल्बम प्रकाशन पूर्व गीतकार ज्योति पौडेलका “मन त मेरो स्वदेश मै — सन् २००५”, “ज्योतिका गीतहरु— २००७”, र “त्रिवेणी” संयुक्त गीति एल्बम २०१३ प्रकाशित भइसकेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीको सभापतित्वमा भएको उक्त विमोचन समारोहको सञ्चालन हिमाली स्वरहरु रेडियोका संस्थापक तथा सञ्चालक सहदेव पौडेलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि ज्ञानचन्द्र आचार्य, प्रख्यात गीति नाटक “मालती—मङ्गले”, “शकुन्तला” र “देवकी” नाटकहरुमा नायकको सफल भूमिका निर्वाह गरिसक्नुभएका नेपाल स्थित संगीत—नाट्य एकेडेमीका प्राज्ञ हरिबहादुर थापा, समाजसेवी डा. तारा निरौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरका अध्यक्ष श्रीमती पूनम काफ्ले, प्रसिद्ध गायक यम बराल, अमेरिका नेपाल फ्रेण्डसिप सोसाइटिका अध्यक्ष श्रीमती परिता राजभण्डारी, प्रसिद्ध गीतकार गगन विरही, नरेन्द्र प्यासी, किसन सिंह धामी, सुकर्मका सञ्चालक ध्रुवेश रेग्मी, संगीत तथा गायककार आलोक शर्मा, कलाकर्मी सुवर्ण क्षेत्री र रामराज क्षेत्री, सीता खरेल, मनुलोहरुङ्ग राई, शैलेश श्रेष्ठ, नरबहादुर दाहाल, गायिका मेनका पोखरेल, शकुन्तला ज्ञवाली, जगदीश उपाध्याय, न्यू योर्कमा कानुन व्यवसाय गरिरहनुभएका एटर्नी एट ल द्वय गिरिजा गौतम तथा विनोद रोका , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरका प्रधान सम्पादक धनिराम सापकोटा लगायत अन्य धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि आचार्यद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रमको शुरुवात नेपालको राष्ट्रिय गान तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको धून द्वारा गरिएको थियो । यसै क्रममा अनेसासका अध्यक्ष गीता खत्रीले गीतकार ज्योति पौडेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने रेनू उपाध्यायले गीतकार ज्योतिलाई फूलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो | जगदीश उपाध्यायले राष्ट्रकवि माधव घिमिरेलाई नमन गर्दै गीतकारको साहित्यिक यात्राका बारेमा प्रकाश पार्नुभएको थियो । साथै युवा गायक तथा संगीतकार आलोक शर्मा ब्यापार प्रशासनमा ब्रशेल्समा उच्च अध्ययन गरेर युरोपमा “आबृती” नामक गीति एल्बम निकालेर गीत र संगीतका क्षेत्रमा भरपर्दो आशा दिलाउँदै उदाएका छन् भन्ने धारणा राख्नुभएको थियो ।

यसैबीच युवा सङ्गीतकार आलोक शर्माले “तिमी जस्ती पाइनँ” भन्ने गीतलाई ट्रयाकमा गाउँदै गर्दा सहभागीहरु स्वतस्फुर्त रुपमा मञ्चमा आई नाच्न पुगेका थिए । कार्यक्रमको बीच बीचमा “प्रभाव” एल्बममा समेटिएको “न्याउली चरी” को भिडियो लगायत एल्बमका गीतहरु बजाइएको थियो जुन श्रोताहरुले मन्त्रमुग्ध भएर सुनिदिनु भएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रधान सम्पादक धनिराम सापकोटाले राष्ट्रकवि माधव घिमिरेको ९५ औ जन्मदिनको उपलक्षमा उहाँको सुदीर्घ जीवनको कामना गर्दै “प्रभाव” एल्बममा समाहित पाँचवटा गीतहरुका बारेमा प्रकाश पार्नुभएको थियो । यसै क्रममा संयुक्त राष्ट्र संघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले ज्योतिका गीतहरुमा मन छुने खालका शब्दहरुको चयन भएको छ भन्दै साहित्य, संगीत र कलाले देशको पहिचानका अतिरिक्त नेपाली हुनुको भाव बोकेको छ भन्दै गीतका साथमा आएको संगीतको झंकारले मानवमस्तिष्कको रेसा रेसामा संचार प्रवाह गर्दछ भन्ने धारणा राख्नुभएको थियो ।2

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्कका अध्यक्ष पूनम काफ्लेले ज्योतिका गीतहरु सुन्दर हुनुका साथै गीतले हाम्रो मुटु छोएका छन् भन्ने धारणा राख्नुभएको थियो । यस्तै गायक यम बरालले “प्रभाव” को राम्रो प्रभाव रहोस् र सफल होस् भन्ने शुभकामना दिनुभएको थियो । यस्तै श्रीमती परिता राजभण्डारीले ज्योतिको परिवारलाई हार्दिक बधाइ दिनुका साथै “प्रभाव” अत्यन्तै प्रभावशाली हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो । यसै क्रममा गीतकार ज्योति पौडेलले आफ्ना बुबामुमा लगायत सम्पूर्ण साहित्यानुरागीहरुको आशीर्वादको अपेक्षा गर्दै आँफू कसरी घरको साहित्यिक वातावरणका कारण समेतले नेपाली साहित्यको सेवामा लाग्दै अहिले सम्मको यात्रा तय गरें भन्ने विषयलाई प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष गीता खत्रीले सभा विसर्जन गर्दै गीतकार ज्योतिका गीतमा देशभक्ति, मिलन, विछोड आदि समाहित भएको भन्दै न्यू योर्क सहरमा प्रत्येक महिनामा गरिने “सृजनाका यात्राहरु” नामक कविता वाचन कार्यक्रमले अझ साहित्यकारहरुमा निखार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“गीतकार पौडेलको ‘प्रभाव’ गीति एल्बमको विमोचन” मा प्राप्त 1 प्रतिकृया
  • Sushma लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:41

    nepali giti album ko bimochan kina americi national anthomko suruwaat sangai garnu paro?? ki naya nepali rastriya geet janena chhan uniharule???/