धर्मराज अधिकारी
लण्डन । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन आइसीसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष क्या.रि. हितमान गुरुङ युरोपमा चुनावी माहौल बनाउन व्यस्त छन् । एनआरएनए युकेमा छलफल चलाईसकेपछि उनी युरोप लागेका हुन् । गुरुङले गत आइतबार एनआरएनए बेल्जियमका पदाधिकारीहरुसंग आफ्नो अभियानका बारेमा परामर्श गरेका थिए । बेल्जियम रहँदा विवादित दुवै पक्षहरुसंग भेटघाट गरी एनआरएन अभियानमा मिलेर जान सुझाव समेत दिए ।
एनआरएए बेल्जियमका नवनिर्वाचित अध्यक्ष प्रेम गुरुङ, निवर्तमान अध्यक्ष जानकी गुरुङ तथा असन्तुष्ट समुहका पिजी शेर्पासंगको भेटमा समस्या समाधान गर्न र आपसमा मिलेर जानुपर्नेमा गुरुङले जोड दिएका थिए । बेल्जियम उनले आइसीसी सदस्य अर्जुन श्रेष्ठ, रबिन्द्र श्रेष्ठ लगायतसंगपनि छलफल गरेका थिए । त्यस्तै एनआरएनए बेल्जियमले आयोजना गरेको रात्रीभोजमा गुरुङ र नेपाली सेनाका उपरथी बालानन्द शर्मापनि सहभागि थिए । त्यस्तै गुरुङले एनआरएनए नेदरल्याण्डका अध्यक्ष कृष्ण अधिकारी लगायत पदाधिकारीहरुसंगपनि भेटगर्न भ्याए । भेटमा आफुले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकोबारे जानकारी गराउंदै गुरुङले समस्त युरोप एक भएर नेतृत्व चयन गर्न लाग्नुपर्नेमा जोड दिएका थिए । सो भेटमा अधिकारीले युरोपको एकै आवाज बनाउन आफुले सक्दो भुमिका निर्वाह गर्ने जानकारी दिएका थिए ।
बुधबार सांझ जर्मनको फ्रयाङ्र्फट पुगेका गुरुङले युरोप क्षेत्रीय संयोजक कुमार पन्त, एनआरएनए जर्मनका पदाधिकारी तथा संरक्षक रामप्रताप थापासंग भेटघाट गरेका थिए । भेटमा गुरुङले आगामी निर्वाचनमा आफुलाई सघाउन आग्रह गरीएको बुझिएको छ । सो अवसरमा उनीहरुबीच एनआरएनका विविध पक्षहरुबारेपनि छलफल भएको थियो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।