रेटिङ नबढे सहयोग कटौती गर्ने एडिबीको चेतावनी

४० प्रतिशत आयोजना मात्र ठेक्कामा

2070 असोज 11 गते 12:34 मा प्रकाशित

११ असोज, काठमाडौं । नेपालको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले विकास आयोजना सञ्चालनमा गुणस्तर वृद्धि गर्न नसके नेपाललाई दिने सहयोग रकम घटाउने जनाएको छ ।

Asian Development Bank Manila

वाषिर्क सहयोग रकममा ९ करोड डलरभन्दा बढी अर्थात ९ अर्ब रुपैयाँसम्म कम हुने एडिबीले चेतावनी दिएको छ । गत आर्थिक वर्ष २०६९/०७० को मूल्यांकनबाट नेपालले ५ मा पोर्टफोलियो रेटिङ ३ पाएको छ ।

रेटिङ वृद्धि गर्न नसके आगामी २०७२/०७३ मा नेपालले ४० करोड ५४ लाख डलर मात्र पाउने एडिबीले जनाएको छ । रेटिङ्ग बढेर ४.५ पुगेमा सहयोग रकम ४९ करोड ८९ लाख डलर पुग्नेछ ।

कार्य सुरु गर्न ढिलाइ, परामर्शदाता र ठेकेदारको कमजोर कार्यसम्पादन, मुख्य पदका कर्मचारीको बारम्बार सरुवा, निर्णय लिन ढिलाइ, सार्वजनिक खरिद कार्यालयको कमजोर अनुगमन क्षमता, ठेक्का प्रक्रियामा अनियमितता, तरल राजनीतिक वातावरणको कारण कार्यान्वयनमा न्यून उत्तरदायित्य र स्थानीय निकायको अभाव जस्ता कारणले नेपालको रेटिङ तल परेको हो ।

एडिबीले जनवरी २०१२ देखि यो वर्षको अगस्तसम्म नेपालमा आफ्नो सहयोगमा सञ्चालित कार्यक्रमको समीक्षा गर्दै उक्त जानकारी दिएको हो । ‘आजको दिनमा हामीलाई पोर्टफोलियो परफरमेन्स सुधार गर्न उस्तै ठूला चुनौती छन्’, एडिबी नेपाल निर्देशक केनिची योकोयामाले भने, ‘यस्तै भएमा नेपालको सहयोग यथावत रहन्छ वा घट्न सक्छ ।’

गत अगस्तसम्म एडिबीको सक्रिय पोर्टफोलियो रकम करिब १ अर्ब ५० करोड डलर रहेको छ । कूल ४५ आयोजनामध्ये १९ वटा ऋण लगानी र २६ वटा अनुदानका छन् । त्यसमध्ये ६० करोड ५८ लाख डलर ठेक्का भइसकेको वा अन्तिम चरणमा पुगेको छ । ठेक्का भएकोमध्ये ३५ करोड ९८ लाख डलर मात्र त्यो समयसम्म भुक्तानी भएको नेपाल पोर्टफोलियो व्यवस्थापन इकाई प्रमुख पि्रयन्था डीसी विजयातुंगाले बताए ।

एडिबीको मापदण्डअनुसार वित्तीय व्यवस्थापनको टुंगो लागेपछि ७० प्रतिशतको रकम ठेक्का भइसक्नुपर्छ भने ४० प्रतिशत रकम भुक्तानी भइसक्नुपर्छ । तर, नेपालमा लगानी सुनिश्चित भएका मध्ये ४० प्रतिशत ठेक्कामा गएका छन् भने भुक्तानी २३ प्रतिशत मात्र भएको एडिबीले जनाएको छ । ‘यसले विकास आयोजनको सही कार्यान्वयन भएको छ भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ’, एडिबीको भनाइ छ ।

एडिबीले नेपालमा गर्दै आएको लगानी मोडललाई पनि परिमार्जन गरी ठूला आयोजनामा केन्दि्रत हुने नीति लिएको जनाएको छ । साना र धेरै परियोजनामा काम गर्दा अनुमगन प्रभावकारी नहुने, मितव्ययिता कायम नहुने र परिणाम पनि नदेखिने अनुभवको आधारमा एडिबीले यस्तो निर्णय गरेको हो ।

एडिबीले नेपालमा आगामी ५ वर्ष अर्थात २०१७ सम्म गर्ने लगानीको सम्बन्धमा रणनीति निर्माण गर्दैछ । ‘परियोजना व्यवस्थापनलाई अझ सबल र चुस्त बनान क्षमता विकास, अनुगमन तथा समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने देखिएको छ’, केनिची योकोयामाले भने ।

निजी क्षेत्रको लगानी वृद्धि गर्न लगानीयोग्य वातावरण निर्माणमा सघाउने गरी एडिबीले रणनीति तयार गर्ने पनि उनले बताए । पूर्वाधार निर्माण, मानव स्रोत र सुशासनलाई उच्च प्राथमिकता दिइएको योकोयामाको भनाइ थियो ।

उच्च दरको आर्थिक वृद्धिको लागि नेपालले पुँजीगत बजेट बढाउनुपर्ने एडिबीको सुझाव छ । एडिबीले नेपालको पुँजीगत खर्च वृद्धिलाई सघाउ पुर्‍याउने गरी आगामी वर्षबाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘नेपालको पुँजीगत खर्च कूल ग्राहस्थ उत्पादनको ३ प्रतिशतमात्र छ’, योकोयामाले भने, ‘ त्यसमा उल्लेख्य वृद्धि नगरी उच्च आर्थिक वृद्धि हासिल हुन सक्दैन ।’

चालू आर्थिक वर्षमा सरकारले ८५ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । गत असारसम्म नेपालको कूल ग्राहस्थ उत्पादन १७ खर्ब पुगेको छ । त्यसआधारमा पुँजीगत खर्चको जीडीपी अनुपात ५ प्रतिशत रहेको छ । तर, पुँजीगत खर्च लक्ष्यभन्दा कम खर्च हुँदै आएको छ ।

“रेटिङ नबढे सहयोग कटौती गर्ने एडिबीको चेतावनी” मा प्राप्त 1 प्रतिकृया
  • Kiran लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:47

    कर्मचारीलाई त पैसा देख्नै हुदैन- सरकार नामर्द भयो, अब त्यो भिख पनि खुस्किने भो!!!

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...