श्रमिक दायित्व चुक्ता गर्न क्यासिनो माजोङलाई आदेश

अवकाश श्रमिक वहाली र ८ करोड भुक्तानी गर्नुपर्ने

2070 असोज 11 गते 14:53 मा प्रकाशित

काठमाडौं, ११ असोज । सोल्टी होटल लिमिटेडस्थित क्यासिनोमा कार्यरत कर्मचारीको सम्पूर्ण दायित्व भुक्तानी गर्न श्रम कार्यालयले आदेश दिएको छ । श्रम कार्यालयले यसअघि पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै क्यासिनोमा कार्यरत ४९ जना कामदारले पुनः श्रम कार्यालयमा निवेदन दिएका थिए ।

बागमती अञ्चल श्रम कार्यालयले शुक्रबार आदेश जारी गर्दै ७ दिनभित्र श्रमिकको भुक्तानी दिई साविक सेवामा लगाउन भनेको छ । उक्त अवधिभित्र आफूले दिएका निर्णयहरु कार्यान्वयन नगरेको खण्डमा श्रम ऐन २०४८ -सं.स.) को दफा २५ -५) बमोजिम चल अचल सम्पत्ति, सरकारी कार्यालयमा राखिएको धरौटी रोक्कामा राख्नेलगायतको कारवाही गरी श्रमिकहरुको दायित्व असुल उपर गरिने श्रम कार्यालयको आदेशमा उल्लेख गरिएको छ ।

श्रम कार्यालयले मिति २०६८ असार २ गते भएको निर्णयबमोजिम ४९ जना कामदार कर्मचारीले प्राप्त गर्नुपर्ने रकम, २०६९ फागुन ११ गते मुुकुन्दराज खरेललगायत ४६ जना कर्मचारीहरुको हकमा निर्णय ठहर भएको रकम तथा मिति २०७० वैशाख ३० गतेका दिन स्व. लक्ष्मण विक्रम श्रेष्ठका हकमा प्रजेन्द्र श्रेष्ठसमेत ३ जनाले पाउनुुपर्ने गरी निर्णय गरिएको रकम भुक्तानी गर्न आदेश दिएको हो ।

सोल्टी होटल लिमिटेड र माजोङ इन्टरटेन्मेन्ट प्रा.लि.बीच मिति २०६९ काक्तिक २४ गते भएको लिज सम्झौता बमोजिम क्यासिनोको नाम मात्रै परिवर्तन गरी संचालन गरिएको तथा क्यासिनो नेपालमा कार्यरत कतिपय कामदार कर्मचारीहरुलाई सेवा अवधि गणना गरी उपदान लगायतका केही बक्यौता रकम क्यासिनो माजोङले भुक्तानी गरेको हुँदा ४९ जना कर्मचारीहरुलाई साविक सेवामा लगाउने र तिर्नु बुझाउनुपर्ने सम्पूर्ण दायित्व माजोङ इन्टरटेन्मेन्ट प्रालिले लिनुुपर्ने भनी श्रम कार्यालयले निर्णय कार्यान्वयनका लागि आदेश दिएको छ ।

श्रम कार्यालयले तीन वटा मितिमा गरेका निर्णयबमोजिम माजोङ इन्टरटेन्मेन्ट प्रालिले ४९ जना कर्मचारीलाई भुक्तानी गर्नुपर्ने कुल रकम आठ करोड आठ लाख ५९ हजार रुपैयाँ पुगेको कर्मचारीले बताएका छन् । नयाँ व्यवस्थापन कम्पनी माजोङ ईन्टरटेन्मेन्ट प्रालिले क्यासिनो नेपालका ७ सयभन्दा बढी कर्मचारीलाई तलब घटुवा गरी काममा लगाएको तथा २ सयभन्दा बढी कर्मचारीलाई केही रकम दिई अवकाश दिएको हुनाले आफूहरुको हक हनन भएको भन्दै कर्मचारीहरुले कानुनी उपचारको बाटो रोजेका थिए ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...