OnlineKhabar.com

प्रधानसेनापति आइतबार भारत जाने

2070 असोज 11 गते 16:58 मा प्रकाशित

११ असोज, काठमाडौं । प्रधानसेनापति गौरवशमशेर राणा आइतबार साताव्यापी भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा राणा भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनासम्मिलित एकीकृत अभ्यासको निरीक्षणका लागि त्यसतर्फ जान लाग्नुभएको हो ।

एकीकृत अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच सहकार्य, दुवै सेनाका आˆना अनुभव आदानप्रदान तथा सैनिक सहयोग एवम् तालिमको क्षेत्रलाई अझ विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप बलियो तुल्याउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

प्रधानसेनापति राणाले नेपाली सेनाको नेतृत्व सम्हालेपछि दोस्रो पटक भारतको भ्रमण गर्न लाग्नु भएको हो । भ्रमणका क्रममा प्रधानसेनापति राणा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको द लरेन्स स्कुल, सनवारको १६६ औँ स्थापना दिवसका कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति राणाले भारतीय रक्षामन्त्री एके एन्टोनी र विदेशसचिवसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उहाँले भारतीय सेनाका उच्च अधिकारी तथा विभिन्न स्थानको पनि अवलोकन भ्रमण गर्नुहुनेछ । प्रधानसेनापतिका साथ भ्रमणदलमा सैनिक विनय महानिर्देशक उपरथी भिक्टरशमशेर जबरा, सहायकरथी सुरेश शर्मा, महासेनानी प्रेमध्वज अधिकारी र सहसेनानी आयुष राणा पनि रहनुहुनेछ । रासस

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।