OnlineKhabar.com

राष्ट्रिय क्रिकेटमा एपीएफसँगै काठमाडौं र नेपालगञ्जको दोस्रो जित

2070 असोज 11 गते 17:26 मा प्रकाशित

११ असोज, काठमाडौं । राजधानीमा जारी टी-२० राष्ट्रिय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँगै काठमाडौं र नेपालगञ्जले लगातार दोस्रो जित हात पारेका छन् ।

एपीएफले क्षेत्र नम्बर २ वीरगञ्जलाई ७६ रनले पराजित गरेको छ । पुल्चोकमा पहिले व्याटिङ गरेको एपीएफले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । उसका लागि सरद भेसवाकरले ३२, सुवास खकुरेलले २९ र बसन्त रेग्मीले २६ रन बनाए । जवाफमा मैदान उत्रिएको वीरगञ्जले २० ओभरमा ८ विकेटको क्षतिमा ७२ रन मात्र बनाउन सक्यो । उसका लागि अमित श्रेष्ठले २६ र बिक्रम बस्नेतले २० रन बनाउनु बाहेक अन्य ब्याटम्यानले दोहोरो अंक जोड्न सकेनन् । वीरगञ्जलाई सस्तैमा समेट्ने क्रममा पारस खड्का, शक्ति गौचन, बसन्त रेग्मी र भुवन कार्कीले समान २/२ विकेट लिए ।

अर्को खेलमा क्षेत्र नम्बर ५ नेपालगञ्जले क्षेत्र नम्बर १ विराटनगरलाई ६ विकेटले पराजित गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय १९ रनको लक्ष्य नेपालगञ्जले अन्तिम ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि महेश क्षेत्रीले ५६ र अनुपम सिंहले ३८ रन जोडे । यसअघि पहिले व्याटिङ गरेको विराटनगरले सन्नी पुनको ३६ रनको मदतमा २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो ।

यस्तै क्षेत्र नम्बर ३ काठमाडौंले क्षेत्र नम्बर ९ कञ्चनपुरलाई ४२ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । उसका लागि विभत्सु थापाले ४० र निरज भट्टराईले ३३ रन बनाए । जवाफमा मैदान उत्रिएको कन्चनपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो । उसका लागि दीपेन्द्र ऐरीले ३२ रन बनाए ।

शुक्रबार नै भएको अर्को खेलमा क्षेत्र नम्बर ७ लाई ५० रनले पराजित गर्दै क्षेत्र नम्बर ८ पोखराले पहिलो जित दर्ता गरेको छ । पहिले व्याटिङ गरेको पोखराले दीपेन्द्र खत्रीको ५० र सन्तोष गुरुङको ४६ रनको मदतमा २० ओभरमा १ सय ८६ रन बनायो । जवाफमा मैदान उत्रिएको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो । उसका लागि अविशेक झाले ३९ र राज मोहम्मदले ३८ रन बनाएपनि हार टार्न सकेनन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।