OnlineKhabar.com

निर्वाचनका प्रचार सामाग्री जिल्लामा

2070 असोज 12 गते 7:01 मा प्रकाशित

१२ असोज, काठमाण्डौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनको प्रचार सामग्री जिल्ला पठाएको छ । निर्वाचन शिक्षासम्बन्धी पोस्टर, पम्प्लेट र हाते पुस्तिकालगायतका प्रचार सामग्री आयोगले मुलुकभरका २ सय ४० ओटै निर्वाचन क्षेत्रमा पठाएको हो । मतदातालाई निर्वाचनसम्बन्धी जानकारी गराउनका लागि तयार पारिएको सबै प्रचार सामग्री जिल्ला पठाइएको आयोगको भनाइ छ ।

निर्वाचनको महत्त्व, मतदान गर्ने तरिका, संविधानसभासम्बन्धी जनकारी, समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीबारे जानकारीमूलक सामग्रीहरू पठाइएको आयोगको भनाइ छ । मतदान गर्दा अपनाउनुपर्ने सावधानीसहित संविधानसभाबारे जानकारी गराएपछि मतदाता मत हाल्न उत्साहित हुन्छन् भन्ने मान्यताबमोजिम यस्ता सामग्री तयार गरिएको आयोग प्रवक्ता वीरबहादुर राईले जानकारी दिएको राजधानी दैनिकमा खबर छ ।

उनले केही सामग्री अझै पठाउने क्रममा रहेको बताए । जिल्ला–जिल्लामा निर्वाचनसम्बन्धी पोस्टर, पम्प्लेट, हातेपुस्तिका पुगेपछि निर्वाचन आयोगले रेडियो र टेलिभिजनमार्फत निर्वाचनसम्बन्धी गीत, कविता, गजल प्रस्तुत गराउने बताएको छ । पत्रपत्रिकाबाट पनि निर्वाचनसम्बन्धी प्रचार गरिने आयोगले जनाएको छ । ‘भोट हाल्न जानुहोस्, आङ्खनो मान्छे आफैं छान्नुहोस्’ लगायतका प्रचार–प्रसार गरी सर्वसाधारण जोकोहीलाई पनि मतदान गर्न जाऊँजाऊँ लाग्ने बनाउन आयोगले प्रचार अभियान तीव्र बनाएको छ ।

निर्वाचन आयोगले मतदाताको नामवलीका बुकहरू सबै जिल्लामा केही दिनअघि पुर्याइसकेको छ । हेलिकोप्टर, प्लेन र बसको सहायताबाट ती सामग्रीहरू जिल्ला पठाइएको थियो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।